बाँके । रसुवा र नुवाकोट क्षेत्रमा काम तथा विभिन्न प्रयोजनले रहेका बाँकेका २७ जना रसुवा–भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका छन्।
सम्पर्कविहीन भएकामध्ये २० जना बाँकेका स्थायी बासिन्दा, पाँच जना अन्य जिल्लाबाट बाँकेमा बसोबास गर्दै आएका व्यक्ति तथा दुई जना भारतीय नागरिक रहेको बताइएको छ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङका अनुसार सम्पर्कविहीन भएकाहरूका परिवारले स्थानीय प्रशासनसमक्ष उनीहरूको खोजी तथा उद्धारका लागि आग्रह गरेका छन्। परिवारका सदस्यले १४ पुरुष र १३ महिला सम्पर्कविहीन भएको जानकारी गराएका छन्।
सम्पर्कविहीन भएकाहरू रसुवा भन्सार कार्यालय, विभिन्न सुरक्षा निकाय, जलविद्युत् आयोजना तथा गोसाइँकुण्ड क्षेत्रमा व्यवसाय गर्दै आएका व्यक्ति रहेको जनाइएको छ। यसैगरी कैलाश–मानसरोवर तीर्थयात्रामा गएका केही सर्वसाधारण पनि सम्पर्कविहीन भएको बताइएको छ।
खोजी तथा उद्धारको प्रयास
बाढीपछि सम्पर्कविहीन भएका नागरिकहरूको अवस्थाबारे विस्तृत जानकारी प्राप्त हुन सकेको छैन। उनीहरू बाढी प्रभावित क्षेत्रमा रहेका कारण परिवारजनमा चिन्ता बढेको छ।
स्थानीय प्रशासनले सम्पर्कविहीन व्यक्तिहरूको विवरण संकलन गर्दै सम्बन्धित निकायसँग समन्वय गरी खोजी तथा उद्धारका लागि आवश्यक पहल गरिरहेको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्