बर्दिया । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि बर्दिया जिल्लाका ९० जना व्यक्ति सम्पर्कविहीन भएका छन्। उनीहरूमध्ये अधिकांश रसुवास्थित जलविद्युत् आयोजना, निर्माण कम्पनी तथा सुरुङमार्ग निर्माण क्षेत्रमा कार्यरत रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालका अनुसार सम्पर्कविहीन हुनेमा गुलरिया नगरपालिकाका दुई जना, बाँसगढी नगरपालिकाका १८ जना, राजापुर नगरपालिकाका १६ जना, बारबर्दिया नगरपालिकाका २५ जना, ठाकुरबाबा नगरपालिकाका १३ जना, मधुवन नगरपालिकाका एक जना र गेरुवा गाउँपालिकाका १४ जना रहेका छन्। थप एक जना सम्पर्कविहीन व्यक्तिको परिचय खुल्न बाँकी रहेको जनाइएको छ।
जिल्ला प्रशासन कार्यालय बर्दियाका विपद् फोकल पर्सन लोकप्रसाद ढकालका अनुसार सम्पर्कविहीन भएकामध्ये पावर चाइना हाइड्रोपावर, अपर त्रिशूली हाइड्रोपावर, त्रिशूली हाइड्रोपावर, रसुवागढी कन्स्ट्रक्सन कम्पनी तथा रसुवा सुरुङमार्ग निर्माण आयोजनामा कामदारका रूपमा कार्यरत व्यक्ति रहेका छन्।
प्रमुख जिल्ला अधिकारी हमालले सम्पर्कविहीन व्यक्तिहरूको विस्तृत विवरण संकलन गरिएको र उनीहरूको खोजी तथा उद्धारका लागि रसुवास्थित सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको बताए।
उनले भने, “बर्दियाबाट रसुवामा कामका लागि कति जना व्यक्ति गएका थिए भन्ने यकिन तथ्यांक छैन। तर, हाल सम्पर्कविहीन भएका व्यक्तिहरूको विवरण संकलन गरी खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइनेछ।”
खोजी तथा उद्धारका लागि समन्वय
जिल्ला प्रशासन कार्यालयले रसुवास्थित सुरक्षा निकायसँग समन्वय गरी सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाउन पहल गरेको जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा सडक तथा सञ्चार सम्पर्क अवरुद्ध हुँदा खोजी कार्य चुनौतीपूर्ण बनेको छ। प्रशासनले सम्पर्कविहीन व्यक्तिका परिवारजनलाई आवश्यक सूचना, समन्वय तथा सहयोग उपलब्ध गराउनसमेत तयारी अवस्थामा रहेको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्