काठमाडौं । श्रीलंकाले विनाशकारी बाढीबाट प्रभावित नेपाललाई १० लाख अमेरिकी डलर बराबरको मानवीय सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।
श्रीलंकाली विदेश मन्त्रालयका अनुसार नेपालमा बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै राष्ट्रपति अनुरा कुमारा दिसानायकेले उक्त आर्थिक सहयोग उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका हुन्। उनले बुधबार नै नेपालमा भएको विपद्प्रति दुःख व्यक्त गर्दै समवेदना सन्देश जारी गरेका थिए।
यसैबीच, बिहीबार श्रीलंकाका विदेशमन्त्री विजिता हेराथले नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग टेलिफोन वार्ता गर्दै बाढीबाट प्रभावित नेपाली जनताप्रति समवेदना, समर्थन र ऐक्यबद्धता व्यक्त गरेका छन्।
श्रीलंकाली विदेश मन्त्रालयले नेपाल सरकारसँग समन्वय गरी जारी उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग उपलब्ध गराउने जनाएको छ।
उद्धार र राहतमा सहयोग
बाढीका कारण प्रभावित नेपाली नागरिकलाई तत्काल राहत तथा मानवीय सहायता पुर्याउने उद्देश्यले १० लाख अमेरिकी डलरको आर्थिक सहयोग घोषणा गरिएको श्रीलंका सरकारले जनाएको छ।
नेपालमा आएको विनाशकारी बाढीपछि विभिन्न देश तथा अन्तर्राष्ट्रिय समुदायले नेपालप्रति ऐक्यबद्धता जनाउँदै उद्धार, राहत र पुनर्स्थापना कार्यका लागि सहयोगको प्रतिबद्धता जनाइरहेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्