काठमाडौँ । निखिल उप्रेती निर्देशित एक्सनप्रधान चलचित्र ‘आचार्य’को चर्चा बढेसँगै विदेशमा समेत यसको माग उच्च देखिएको छ। चलचित्रकी निर्मात्री सञ्चिता लुईंटेलले विभिन्न देशमा प्रदर्शनका लागि सम्झौता गरिरहनुभएको छ।
हालै आकर्षक टिजर सार्वजनिक भएसँगै ‘आचार्य’प्रति स्वदेशी तथा विदेशी प्रदर्शकको चासो बढेको निर्माणपक्षले जनाएको छ। पछिल्लो माहोलले चलचित्रले राम्रो व्यापार गर्ने संकेत देखिएको छ। निखिलका फ्यान तथा एक्सन चलचित्रका पारखीहरू ‘आचार्य’को प्रदर्शनको प्रतीक्षामा छन्।
महँगो बजेटमा निर्माण भएको चलचित्रको ओभरसिज राइट्ससमेत उच्च मूल्यमा बिक्री भइरहेको निर्माण स्रोतले जनाएको छ। विदेशमा प्रदर्शन अधिकार बिक्रीबाट लगानीको ठूलो हिस्सा उठ्ने अवस्था बनेपछि निखिल र सञ्चिता उत्साहित देखिनुभएको छ।
निर्माण स्रोतका अनुसार यसअघिका सफल चलचित्रको तुलनामा ‘आचार्य’को प्रदर्शन अधिकार राम्रो मूल्यमा बिक्री भइरहेको छ। हालसम्म युरोप, अमेरिका, कोरिया, इजरायल, क्यानाडा, मलेसिया तथा खाडी मुलुकमा प्रदर्शन अधिकारका लागि सम्झौता भइसकेको छ। अष्ट्रेलियाका लागि पनि एक–दुई दिनभित्र सम्झौता हुने तयारी छ।
भारतमा प्रदर्शनका लागि भने निखिल आफैँले पहल गरिरहनुभएको छ। नेपालमा चलचित्र वितरणको जिम्मा मनोज राठीको कम्पनीले लिएको छ।
नेपाल प्रेससँग कुरा गर्दै निर्मात्री सञ्चिताले चलचित्रप्रति स्वदेश तथा विदेशमा देखिएको चासोले आफूहरू उत्साहित भएको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘देशभित्र मात्र नभएर बाहिर पनि धेरै चासो देखिएको छ। विभिन्न देशमा प्रदर्शनका लागि कुराकानी र सम्झौता गरिरहेका छौँ।’
रसुवा बाढीपीडितका लागि च्यारिटी शो
यसैबीच, चलचित्रका निर्देशक तथा अभिनेता निखिल उप्रेतीले रसुवा बाढीपीडितको सहयोगार्थ ‘आचार्य’को च्यारिटी शो गर्ने घोषणा गर्नुभएको छ।
एक कार्यक्रममा बोल्दै उहाँले चलचित्र विकास बोर्डसँगको सहकार्यमा च्यारिटी शो आयोजना गर्ने जानकारी दिनुभएको हो।
होम प्रोडक्सनमै नामको विषयले कौतुहल
‘आचार्य’ निखिल उप्रेती र सञ्चिता लुईंटेलको होम प्रोडक्सनमा निर्माण भएको चलचित्र हो। चलचित्रमा मुख्य लगानी सञ्चिताको रहेको र केही बाह्य लगानीकर्तासमेत जोडिएको निर्माणपक्षले जनाएको छ।
यद्यपि चलचित्रको फर्स्ट लुक र टिजर सार्वजनिक हुँदा सञ्चिताको नाम नराखिएपछि यस विषयले कौतुहल सिर्जना गरेको छ। चलचित्रको निर्मातामा भने कृष्ण भट्टराईको मात्र नाम उल्लेख गरिएको छ।
चलचित्र निर्माणका क्रममा निखिल र सञ्चिताबीच केही विषयमा मतभेद सिर्जना भएको र त्यसैका कारण निखिलले सञ्चिताको नाम हटाएको हुन सक्ने अनुमानसमेत गरिएको छ। तर, दुवैजनाले यस विषयमा हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिनुभएको छैन।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्