काठमाडौँ । प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग गर्न विदेशबाट नेपालमा आईएमईमार्फत निःशुल्क रकम पठाउन सकिने भएको छ। आईएमईले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा विदेशमा रहेका नेपाली र नेपालमा आर्थिक सहयोग गर्न चाहने व्यक्तिले सिधै रकम पठाउन सक्ने व्यवस्था गरेको हो। आईएमईका अनुसार रेमिट्यान्स प्रणालीमार्फत सहयोग रकम पठाउन सकिने भएपछि विदेशमा रहेका नेपालीबाट राहत कोषमा आर्थिक सहयोग जुटाउन सहज हुनेछ। नेपालभित्रबाट भने खल्ती बाइ आईएमई मार्फत सरकारी राहत कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने क्रम बढिरहेको छ। यही परिस्थितिलाई मध्यनजर गर्दै आईएमईले आफ्नो भुक्तानी तथा रेमिट्यान्स सञ्जालमार्फत सहयोग रकम सम्बन्धित सरकारी कोषमा सहज रूपमा पुर्याउने व्यवस्था गरेको जनाएको छ। आईएमईले विपद्को संवेदनशील अवस्थामा आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्न सर्वसाधारण तथा विदेशमा रहेका नेपालीलाई आग्रह गरेको छ। साथै, बाढी प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ। आईएमईका अनुसार विभिन्न बैंकमा रहेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका खातामा सिधै रकम जम्मा गर्न सकिनेछ। यस व्यवस्थाले विदेशबाट पठाइने सहयोग रकमलाई औपचारिक रेमिट्यान्स प्रणालीमार्फत सम्बन्धित राहत कोषमा पुर्याउन सहज हुने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्