काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारका लागि आजदेखि छुट्टै हेलिकप्टर परिचालन गर्ने तयारी गरिएको छ ।
Originally published on abcnews.com.np.
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारका लागि आजदेखि छुट्टै हेलिकप्टर परिचालन गर्ने तयारी गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यवाहक प्रबन्ध निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा स्थानीय नागरिकको उद्धारका लागि ‘डेडिकेटेड’ हेलिकप्टर तयार पारिएको हो ।
‘आजदेखि एउटा डेडिकेटेड हेलिकप्टर उडाउने तयारी गरिरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘यसका लागि आवश्यक समन्वय भइरहेको छ । जलविद्युत् आयोजनाका कर्मचारीसँगै त्यहाँ स्थानीय व्यक्तिहरू पनि फसेका छन् । उनीहरूको पनि उद्धार गरिनेछ ।’
बाढीका कारण कतिपय आयोजनाका सुरुङ प्रवेशद्वारमा माटो तथा गेग्रान थुप्रिएपछि उद्धार कार्यमा कठिनाइ भइरहेको प्राधिकरणले जनाएको छ । सुरुङका प्रवेशद्वारमा थुप्रिएको माटो हटाउन डोजरलगायतका उपकरण परिचालन गर्ने तयारी भइरहेको छ ।
प्राधिकरणले बाढीबाट प्रभावित विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारलाई तीव्रता दिएको छ । उद्धारका लागि आवश्यक सामग्री, उपकरण तथा जनशक्ति काठमाडौंबाट प्रभावित क्षेत्रतर्फ पठाइसकिएको जनाइएको छ ।
नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारका लागि विशेष टोली परिचालन गरिएको छ ।
त्यस्तै, शान्ति बजार क्षेत्रमा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि उद्धार टोली खटाइएको प्राधिकरणले जनाएको छ । हेलिकप्टरमार्फत उद्धारसँगै स्थलमार्गबाट सुरुङ प्रवेशद्वारमा थुप्रिएको माटो तथा गेग्रान हटाउने कामलाई समेत अघि बढाइने भएको छ ।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्