काठमाडौं । रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीपछि रसुवागढी–केरुङ नाका हुँदै चीनबाट सामान ढुवानी गर्ने व्यवसायमा गम्भीर संकट उत्पन्न भएको छ। नेपाल ट्रक कन्टेनर व्यवसायी संघका अनुसार हालसम्म करिब ४ सय कन्टेनर र तिनमा कार्यरत करिब एक हजार कामदार तथा कर्मचारीको अवस्था अज्ञात रहेको छ।
बाढीले नेपाल–चीन व्यापारिक मार्गमा ठूलो क्षति पुर्याएपछि चालक, सहचालक, भन्सार सहजकर्ता तथा अन्य कामदारसँग सम्पर्क टुटेको व्यवसायीहरूले बताएका छन्। कतिपय कन्टेनर नेपालतर्फ बगेको देखिएको भए पनि चीनतर्फ रहेका तथा सम्पर्कविहीन अन्य कन्टेनरको अवस्थाबारे यकिन विवरण आउन सकेको छैन।
नेपाल ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुनबहादुर सापकोटाले बाढी प्रभावित क्षेत्रमा रहेका व्यवसायी, कन्टेनर र कामदारको खोजीका लागि आफूहरूले विभिन्न सरकारी निकायसँग समन्वय गर्न खोजे पनि अपेक्षित सहयोग नपाएको गुनासो गरे।
उनका अनुसार तीज, दसैँ र तिहारलाई लक्षित गरी चीनबाट नेपाल भित्र्याउन लागिएका लत्ताकपडा, कस्मेटिक तथा विद्युतीय सामग्री बोकेका कन्टेनर ठूलो संख्यामा केरुङ–रसुवागढी क्षेत्रमा रोकिएका थिए।
व्यवसायीको पीडा : ‘क्षति त पूर्ति होला, मानिसको जीवन फर्किँदैन’
सिन्धुपाल्चोकका ईश्वर गुभाजु र झापाका भरत कोइरालासहितका व्यवसायीको समूह पनि बाढीबाट गम्भीर रूपमा प्रभावित भएको छ। उनीहरूले सञ्चालन गर्दै आएको ढुवानी व्यवसायका केही कन्टेनर बाढीमा बगेका छन् भने थुप्रै कामदार सम्पर्कविहीन रहेको बताइएको छ।
व्यवसायीका अनुसार सामान बोकेका कन्टेनरमा करोडौँ रुपैयाँ बराबरका सामग्री थिए। केही कन्टेनरको बीमाबाट आर्थिक क्षतिपूर्ति हुन सक्ने सम्भावना भए पनि चालक, सहचालक र अन्य कामदारको अवस्थाले सबैभन्दा ठूलो चिन्ता थपेको उनीहरूको भनाइ छ।
‘सामान र गाडीको क्षति कुनै न कुनै रूपमा पूर्ति हुन सक्छ, तर बाढीमा परेका मानिसको जीवनको क्षति कसैले पनि पूरा गर्न सक्दैन,’ एक व्यवसायीले भने।
राति यात्रा रोकिँदा धेरै कन्टेनर टिमुरेमै
व्यवसायी संघका अनुसार नेपालतर्फ भन्सार प्रक्रिया पूरा गरेका धेरै कन्टेनर प्रशासनको आदेशअनुसार रातिको समयमा टिमुरे क्षेत्रमै रोकिएका थिए। बेलुकीपछि मालवाहक सवारी सञ्चालनमा रोक लगाइएकाले कैयौँ कन्टेनर, चालक र सहचालक बाढी आउँदासम्म सोही क्षेत्रमा रहेको व्यवसायीहरूको दाबी छ।
संघका अध्यक्ष सापकोटाले समयमा सवारीलाई गन्तव्यतर्फ जान दिइएको भए क्षतिको अवस्था फरक हुन सक्ने दाबी गर्दै अहिले मुख्य प्राथमिकता सम्पर्कविहीन मानिस र कन्टेनरको खोजी हुनुपर्ने बताए।
‘पहिले मानिसको खोजी, त्यसपछि सम्पत्तिको हिसाब’
व्यवसायीहरूले अहिले सम्पर्कविहीन चालक, सहचालक, कामदार र अन्य कर्मचारीको खोजीलाई पहिलो प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन्। बाढीग्रस्त क्षेत्रमा सुरक्षा जोखिम र पुनः बाढी आउने सम्भावनाका कारण खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
व्यवसायी संघमा आबद्ध मात्रै ९६३ व्यवसायी रहेकाले वास्तविक क्षति र सम्पर्कविहीन कन्टेनर तथा मानिसको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।
रसुवागढी–केरुङ नाका नेपाल र चीनबीचको प्रमुख व्यापारिक मार्गमध्ये एक भएकाले बाढीले मानवीय क्षतिसँगै आयात–निर्यात, व्यवसाय र चाडपर्व लक्षित बजारमा समेत गम्भीर प्रभाव पार्ने देखिएको छ।
Originally published on abcnews.com.np.
















प्रतिक्रिया दिनुहोस्