काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धारमा सहयोग गर्न इच्छा व्यक्त गरेका अन्तर्राष्ट्रिय उद्धार टोलीलाई नेपाल सरकारले तत्काल स्वीकृति नदिएको विषयमा सरकारको धारणा सार्वजनिक गरेको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको आफ्नै खोज तथा उद्धार क्षमतामा विश्वास रहेकाले विदेशी उद्धार टोलीलाई तत्काल आमन्त्रण नगरिएको बताएका छन्।
उनका अनुसार राष्ट्रिय क्षमता, तत्कालको आवश्यकता तथा नेपालको विशिष्ट र जटिल भौगोलिक अवस्थालाई ध्यानमा राख्दै उद्धार रणनीति तय गरिएको हो।
मन्त्री खनालले अपरिचित भूगोलमा बाह्य उद्धार टोली परिचालन गर्दा समन्वय र प्राविधिक व्यवस्थापनमा थप जटिलता आउन सक्ने तथा अनपेक्षित जोखिमसमेत सिर्जना हुन सक्ने बताए।
“हाम्रो टोली सक्षम छ, हाम्रो भूगोलप्रति परिचित छ। हाम्रो सुरक्षा निकायहरू—नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल—सबै उद्धार तथा खोजी कार्यमा परिचालित छन्,” उनले भने।
उनले देशभित्र उपलब्ध राष्ट्रिय क्षमताले धान्न सक्ने अवस्थासम्म आफ्नै संयन्त्रमार्फत उद्धार कार्य सञ्चालन गर्नु स्वाभाविक रहेको उल्लेख गरे।
“जहाँ हामीलाई थप प्राविधिक क्षमता आवश्यक पर्छ, त्यहाँ आवश्यकताअनुसार सहकार्य गर्छौँ,” मन्त्री खनालले भने।
सरकारले मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय निकायसँग भने निरन्तर संवाद र समन्वय गरिरहेको उनको भनाइ छ। आवश्यकता देखिएमा विशेष प्राविधिक क्षमता, उपकरण वा अन्य सहयोग लिन सरकार तयार रहेको उनले स्पष्ट पारे।
रसुवाको भोटेकोसीमा आएको भीषण बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सरकारी निकायहरू खोज, उद्धार र राहत वितरणमा परिचालित छन्। सरकारले तत्काल विदेशी उद्धार टोली नबोलाउने निर्णय गरे पनि आवश्यकताअनुसार अन्तर्राष्ट्रिय सहयोग र प्राविधिक सहकार्य लिन सकिने जनाएको छ।
Originally published on abcnews.com.np.
















प्रतिक्रिया दिनुहोस्