काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसहितको टोलीले नुवाकोटको बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेको छ।
शुक्रबार आङ्देम्बेसहित कांग्रेसकी प्रमुख सचेतक बासना थापाको टोलीले नुवाकोटको विदुर आसपासका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेको हो।
टोलीले बाढीपीडितको अवस्था, उद्धार तथा राहत वितरणको अवस्थाबारे जानकारी लिएको थियो।
निरीक्षणपछि प्रमुख सचेतक थापाले बाढीबाट भएको क्षति अत्यन्तै पीडादायी रहेको बताइन्। उनले सरकारले आफ्नो क्षमताअनुसार उद्धार तथा राहतका काम गरिरहेको बताइन्।
‘अहिलेको अवस्था धेरै दर्दनाक छ। क्षति धेरै भए पनि सरकारले सक्दो काम गरिरहेको छ,’ उनले भनिन्, ‘मान्छे पुग्न नसकेको ठाउँमा पनि सरकारले राहत सामग्री पुर्याएको छ। वृद्धवृद्धा, बालबालिका र बिरामीलाई प्राथमिकतामा राखेर उद्धार भइरहेको छ।’
थापाले उपलब्ध साधनस्रोतको सरकारले उच्चतम उपयोग गरिरहेको बताइन्। गृह मन्त्रालयले घटनालाई गम्भीरतापूर्वक लिएर उपलब्ध साधनस्रोतको प्रभावकारी उपयोगका लागि समन्वय गरिरहेको उनको भनाइ छ।
‘गृहमन्त्रीज्यू पनि यो घटनालाई लिएर निकै गम्भीर हुनुहुन्छ,’ उनले भनिन्, ‘भएका साधनस्रोतलाई सही तरिकाले उपयोग गर्नका लागि समन्वय गरिरहनुभएको छ।’
बाढी तथा विपद्को घटनाले सरकारलाई विपद् व्यवस्थापनका लागि सधैँ तयारी अवस्थामा रहनुपर्ने पाठ सिकाएको पनि थापाले बताइन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्