गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले नेपाल रेडक्रस सोसाइटीबाट शव प्याक गर्ने झोला प्राप्त भइसकेको पुष्टि गर्दै आवश्यकतामा वृद्धि भएपछि भारत सरकारबाट थप सहयोग लिने तयारी भइरहेको जानकारी दिएका छन्।
यसैबीच, नेपाल रेडक्रस सोसाइटीले पनि थप शव झोलाको व्यवस्था गरिरहेको जनाएको छ। रेडक्रसका अध्यक्ष डा. विशाल भण्डारीका अनुसार शुक्रबार झापाबाट थप ४०० वटा शव प्याक गर्ने झोला प्रभावित क्षेत्रमा पठाइँदैछ।
ती झोला नवलपरासी, धादिङ र चितवनलगायतका क्षेत्रमा फेला परेका शव व्यवस्थापनका लागि प्रयोग गरिने बताइएको छ। रेडक्रसले आफ्नो केन्द्रीय भण्डारबाट समेत थप सामग्री मगाउने प्रक्रिया अघि बढाएको जनाएको छ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले शव फेला पर्ने क्रम जारी रहेकाले आवश्यक सामग्रीको मौज्दात बढाउनुपर्ने अवस्था आएको बताए।
उनले भने, ‘कति शव फेला पर्छ भन्ने कुरा अहिले नै यकिन गर्न सकिँदैन। तर, शव फेला पर्ने क्रमको रफ्तारलाई ध्यानमा राख्दै धेरैभन्दा धेरै संख्यामा व्यवस्थापनको तयारी गर्नुपरेको छ।’
बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, चितवन, नवलपरासी तथा अन्य तटीय जिल्लामा खोजी र शव सङ्कलन कार्य जारी रहेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्