काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट करिब ९३ हजार मानिस प्रत्यक्ष प्रभावित भएको अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी महासंघ (आईएफआरसी)ले प्रारम्भिक अनुमान गरेको छ।
आईएफआरसीका नेपाल प्रतिनिधिमण्डल प्रमुख डेभिड फिसरले बाढी प्रभावित क्षेत्रमा पुनः अर्को बाढी आउन सक्ने जोखिमप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। सीमा क्षेत्रमा बनेको तालको पानी बढ्दै जाँदा थप बाढीको जोखिम रहेको भन्दै उद्धार तथा राहत कार्यमा चुनौती थपिएको छ।
तत्काल जीवनरक्षा तथा दीर्घकालीन पुनर्निर्माणका लागि आईएफआरसीले करिब ३१ मिलियन अमेरिकी डलरको आपत्कालीन अन्तर्राष्ट्रिय सहायता अपिल जारी गरेको छ।
नेपाल रेडक्रस सोसाइटीका टोलीले प्रभावित क्षेत्रमा पाल, कम्बल, खानेपानी, प्राथमिक उपचार सामग्री, म्याट्रेस तथा शव राख्ने झोलालगायतका सामग्री वितरण गरिरहेका छन्। आईएफआरसीले नेपाल रेडक्रसको आपत्कालीन प्रतिक्रियाका लागि प्रारम्भिक रूपमा करिब १० लाख स्विस फ्र्यांकको आपत्कालीन कोषसमेत परिचालन गरेको जनाएको छ।
बाढीका कारण सडक तथा पुलहरूमा ठूलो क्षति पुगेकाले दुर्गम प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन कठिनाइ भइरहेको रेडक्रसले जनाएको छ। केही क्षेत्रमा सडक तथा पुल नष्ट भएकाले राहत र उद्धारका लागि हेलिकोप्टरमा निर्भर हुनुपर्ने अवस्था रहेको आईएफआरसीले जनाएको छ।
आईएफआरसीले आफ्नो अन्तर्राष्ट्रिय सञ्जाललाई समेत आपत्कालीन परिचालनमा लगाउँदै प्रभावित समुदायको तत्काल आवश्यकता पूरा गर्न तथा आगामी पुनःस्थापनाका लागि सहयोग जुटाउने काम अघि बढाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्