उपत्यकाबाट बाहिरिने मुख्य मार्गमध्ये नागढुंगा–मुग्लिन राजमार्ग पूर्ण रूपमा बन्द रहेको छ। यस्तै, रसुवा हुँदै चीनको सीमा नाकातर्फ जाने पासाङ ल्हामु राजमार्ग पनि बाढीका कारण व्यापक क्षति पुगेपछि सञ्चालनमा आउन सकेको छैन।
दुवै महत्वपूर्ण सडक अवरुद्ध भएपछि सामान ढुवानीका लागि राजधानीबाट बाहिरिन तयारी अवस्थामा रहेका सयौं मालवाहक ट्रक काठमाडौंमै थन्किएका छन्। कलंकीदेखि बल्खुसम्म सडकका विभिन्न स्थानमा ठूला ट्रकको लामो लाइन देखिएको छ।
सडकको एक लेनमा मालवाहक ट्रकहरू लामबद्ध रूपमा पार्क गरिएका कारण यातायात व्यवस्थापनमा समेत चुनौती थपिएको छ।
उपत्यकाबाहिर विभिन्न जिल्लामा खाद्यान्न, उपभोग्य सामग्री तथा अन्य सामान ढुवानी गर्न तयारी अवस्थामा रहेका ट्रकहरू बुधबार दिउँसोदेखि नै रोकिएका हुन्।
रसुवाको भोटेकोसीमा आएको भीषण बाढीले सडक तथा पुलसहितका पूर्वाधारमा व्यापक क्षति पुर्याएपछि राजधानीसँग जोडिएका विभिन्न यातायात मार्ग प्रभावित भएका छन्। सडक अवरुद्ध रहँदा मालसामान ढुवानी, आपूर्ति व्यवस्था तथा व्यवसायिक गतिविधिमा समेत असर पर्ने देखिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्