काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाएका छन्।
नेपालस्थित चिनियाँ दूतावासका अनुसार राष्ट्रपति सीले शुक्रबार राष्ट्रपति पौडेललाई सन्देश पठाउँदै विपद्बाट प्रभावित नेपालीप्रति सहानुभूति व्यक्त गरेका हुन्।
भदौ १० गते नेपाल–तिब्बत सीमाक्षेत्रमा आएको आकस्मिक बाढी तथा पहिरोले नेपाल र चीनको सीमावर्ती क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। नेपालतर्फ भोटेकोसी र त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो क्षति भएको छ भने चीनतर्फ तिब्बतको केरुङ क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ।
चीनमा पनि उद्धार अभियान तीव्र
यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनतर्फको विपद् व्यवस्थापन र उद्धार कार्यलाई उच्च प्राथमिकता दिएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक ब्युरोको बैठकमा सीले उद्धार तथा राहत कार्य तीव्र बनाउन र पहिरोका कारण बनेको कृत्रिम ताल (ब्यारियर लेक) को अवस्थामाथि विशेष निगरानी राख्न निर्देशन दिएका छन्।
चिनियाँ अधिकारीहरूले उच्च हिमाली क्षेत्रको प्रतिकूल मौसम, अस्थिर भूगोल तथा हिमनदी र हिमतालबाट उत्पन्न हुन सक्ने थप जोखिमलाई ध्यानमा राखेर उद्धार तथा पूर्वसूचना प्रणालीलाई थप मजबुत बनाउन निर्देशन दिएका छन्।
चीनले नेपाललाई आवश्यकताअनुसार आपत्कालीन सहायता तथा अन्तर्राष्ट्रिय उद्धार सहकार्य उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ।
यसअघि नै चीनले तिब्बततर्फको सबैभन्दा प्रभावित क्षेत्रमा व्यावसायिक उद्धार टोली परिचालन गरिसकेको छ। २१ जना उद्धारकर्मी र खोजी कुकुरसहितको टोली घटनास्थल पुगेको चिनियाँ अधिकारीहरूले जनाएका छन्।
नेपालमा आएको विपद्प्रति राष्ट्रपति सीबाट आएको समवेदना सन्देशलाई दुई देशबीचको विपद्का बेला सहकार्य र मानवीय ऐक्यबद्धताको संकेतका रूपमा हेरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्