पोखरा । शुक्रबार दिउँसोदेखि परेको अविरल वर्षापछि सडकमा उर्लिएको भेलले पोखरा महानगरपालिकामा एकै परिवारका तीन जनालाई बगाएको छ।
भेलले पोखरा–३०, ढुङ्गेपाटन निवासी २६ वर्षीया सुष्मा दाहाल, उनकी दुई वर्षीया छोरी रानिका दाहाल र उनका बुवा गिरीप्रसाद दाहाललाई बगाएको हो।
शुक्रबार दिउँसो करिब ४ बजेतिर पोखरा–७ स्थित पुरानो विमानस्थलनजिक उनीहरू सवार स्कुटर रोकिएको थियो। वर्षाका कारण सडकबाट किनारातर्फ जान खोज्दा अचानक आएको भेलले उनीहरूलाई बगाएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।
उनीहरू ग१३प २८५९ नम्बरको स्कुटरमा सवार थिए।
घटनाको जानकारी पाएपछि प्रहरीले खोजी तथा उद्धार सुरु गरेको थियो। करिब एक किलोमिटर तल पोखरा–१७, बिरौटास्थित नहरकुलोबाट तीनै जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ।
उद्धारपछि उनीहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्याइएको छ। प्रहरीका अनुसार गिरीप्रसाद, सुष्मा र रानिका तीनै जनाको अवस्था गम्भीर रहेको छ।
पोखराका मुख्य सडक तथा सहरी क्षेत्रमा पर्याप्त नाली तथा पानी निकासको व्यवस्था नहुँदा वर्षायाममा सडकबाटै ठूलो मात्रामा पानी बग्ने गरेको छ। सडकमा उर्लिने भेलका कारण पैदलयात्री तथा सवारीसाधन जोखिममा पर्ने गरेका छन्।
शुक्रबारको घटनाले पनि सहरी क्षेत्रमा वर्षाको पानीको उचित निकास तथा जोखिमयुक्त सडकमा तत्काल व्यवस्थापनको आवश्यकता पुनः देखाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्