कास्की । त्रिशूली तथा नारायणी नदी किनारका विभिन्न स्थानमा फेला परेका १०२ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको छ।
भोटेकोशी बाढीपछि बेपत्ता भएकाहरूको खोजीका क्रममा धादिङ, गोरखा, तनहुँ र पूर्वी नवलपरासीलगायत जिल्लामा फेला परेका शवको व्यवस्थापन तथा परीक्षण गर्ने पर्याप्त व्यवस्था नभएपछि पोखरा ल्याइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए।
उनका अनुसार बिहीबार राति पूर्वी नवलपरासीबाट ४१, तनहुँबाट २३, गोरखाबाट ११ र धादिङबाट २७ शव पोखरा ल्याइएको हो। ती शवको व्यवस्थापन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ।
यस्तै, तनहुँका विभिन्न स्थानमा फेला परेका नौ शव भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणपछि मणिपाल शिक्षण अस्पताल पठाइएको छ। पोखराका सरकारी तथा निजी अस्पतालमा गरी ८८ शव व्यवस्थापन गर्न सकिने क्षमता रहेको प्रशासनले जनाएको छ।
पहिचानका लागि सार्वजनिक सूचना
फेला परेका शवको परीक्षण गरी पहिचान गर्ने प्रक्रिया अघि बढाइने भएको छ। पहिचान हुन नसकेका शवबारे स्थानीय प्रशासनले सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्