काठमाडौं । चीन सरकारले सीमावर्ती केरुङसहित नेपालतर्फ बाढीपहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को उच्चस्तरीय विशेष बैठकले नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन राहत सामग्री तथा सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।
राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा दक्षिण–पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रको केरुङ काउन्टीमा बुधबार आएको विनाशकारी बाढीपहिरोपछि जारी खोज, उद्धार तथा राहत अभियानको समीक्षा गरिएको थियो।
बैठकको सुरुआतमा राष्ट्रपति सीसहित चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूले केरुङ सीमानाकामा पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति शोक व्यक्त गर्दै एक मिनेट मौनधारण गरेका थिए।
राष्ट्रपति सीले प्रभावित क्षेत्रमा जनधनको क्षति न्यून गर्न, बेपत्ताको खोजीलाई प्राथमिकता दिन तथा विस्थापितलाई तत्काल खाद्यान्न, आवास र आवश्यक सामग्री उपलब्ध गराउन निर्देशन दिएका छन्।
माथिल्लो नदी क्षेत्रमा बनेको अस्थायी तालका कारण थप जोखिम उत्पन्न हुन सक्ने भन्दै त्यसको प्राविधिक अनुगमन बढाउन पनि सीले निर्देशन दिएका छन्। साथै, नेपाल सरकारसँग भइरहेको संयुक्त उद्धार तथा कूटनीतिक समन्वयलाई थप प्रभावकारी बनाउन जोड दिइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्