काठमाडौं । रसुवाको ग्यिरोङ क्षेत्रमा पर्ने भोटेकोसीको माथिल्लो भागमा रहेका केही साना हिमताल फुट्दा लेदोसहित नदीमा पानीको बहाव बढेको सरकारले जनाएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले घटनाबारे चीन सरकारसँग निरन्तर संवाद भइरहेको बताए।
उनका अनुसार परराष्ट्र मन्त्रालयमार्फत चीनसँग प्राप्त भइरहेको जानकारीअनुसार तत्काल ठूलो जोखिमको अवस्था देखिएको छैन।
‘परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको छ। तत्काल त्यस्तो ठूलो जोखिम केही नरहेको चीनतर्फबाट जानकारी आइरहेको छ,’ उनले भने।
मन्त्री पोखरेलले अहिले आत्तिनुपर्ने अवस्था नरहेको बताउँदै भोटेकोसीको माथिल्लो क्षेत्रमा रहेका केही साना हिमताल फुटेका कारण विभिन्न स्थानमा लेदोसहित पानीको बहाव बढेको जानकारी दिए।
उनले कुनै ठूलो बाँध फुटेको अवस्था भने नरहेको स्पष्ट पारे।
‘अहिले बाँध नै फुटेको अवस्था होइन। केही साना हिमताल फुटेका कारण विभिन्न स्थानमा लेदोसहितको पानीको बहाव बढेको छ,’ उनले भने।
यद्यपि, सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउनुपर्नेमा उनले जोड दिए। तत्काल ठूलो विपद्को जोखिम नदेखिए पनि नदी आसपासका बस्ती तथा स्थानीयवासीलाई विशेष सावधानी अपनाउन सरकारले आग्रह गरेको छ।
सरकारले चीनतर्फबाट प्राप्त सूचना र प्राविधिक जानकारीका आधारमा स्थितिको निरन्तर अनुगमन गरिरहेको जनाएको छ। सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारीसमेत भइरहेको मन्त्री पोखरेलले बताए।
सरकारले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन र आधिकारिक निकायबाट जारी हुने सूचना तथा निर्देशनलाई पालना गर्न आग्रह गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्