कास्की । त्रिशूली तथा नारायणी नदी किनारका विभिन्न स्थानमा फेला परेका १०२ वटा शवको पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको छ।
भोटेकोसीको बाढीले बगाएकाहरूको खोजीका क्रममा सुरक्षाकर्मी तथा स्थानीयवासीले धादिङ, गोरखा, तनहुँ र पूर्वी नवलपरासीलगायत जिल्लाका नदी किनारमा शव फेला पारेका थिए। सम्बन्धित जिल्लामा शवको व्यवस्थापन तथा परीक्षण गर्ने पर्याप्त व्यवस्था नभएपछि ती शव पोखरा ल्याइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए।
उनका अनुसार बिहीबार राति पूर्वी नवलपरासीबाट ४१, तनहुँबाट २३, गोरखाबाट ११ र धादिङबाट २७ वटा शव पोखरा ल्याइएको हो।
पोखरा ल्याइएका शवमध्ये अधिकांशको व्यवस्थापन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ। तनहुँका विभिन्न स्थानमा फेला परेका नौ वटा शव भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरी मणिपाल शिक्षण अस्पताल पठाइएको बरालले बताए।
पोखराका सरकारी तथा निजी अस्पतालमा गरी हाल ८८ वटा शव व्यवस्थापन गर्ने क्षमता रहेको जनाइएको छ।
स्थानीय प्रशासनले शवहरूको परीक्षण सम्पन्न गरी पहिचानका लागि सार्वजनिक सूचना जारी गर्ने तयारी गरिरहेको जनाएको छ। पहिचान हुन नसकेका शवको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइने बताइएको छ।
— रासस
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्