पश्चिम नवलपरासी । नारायणी नदीमा आएको बाढीको बहाव क्रमशः घट्दै गएपछि पश्चिम नवलपरासीको सुस्ताबाट विस्थापित भएका स्थानीय बासिन्दा पुनः आफ्नो गाउँ फर्किन थालेका छन्।
बुधबार नारायणी नदीमा पानीको सतह उच्च बनेपछि बाढी गाउँमा पस्ने जोखिम बढेपछि स्थानीय प्रशासन र गाउँपालिकाले सुस्ताका नागरिकलाई सुरक्षित स्थानमा सारिएको थियो। उद्धार गरिएका नागरिकलाई सुस्तावारी ल्याई विद्यालय तथा अन्य सुरक्षित भवनमा अस्थायी रूपमा राखिएको थियो भने केहीले आफन्तको घरमा आश्रय लिएका थिए।
झोलुङ्गे पुल हुँदै गाउँ फर्कंदै
सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालका अनुसार नदीको पानीको सतह घट्दै गएपछि र गाउँको अवस्था सुरक्षित रहेको जानकारी प्राप्त भएपछि विस्थापित नागरिकहरू पुनः सुस्ता फर्किन थालेका हुन्।
विद्यालय तथा आफन्तका घरमा बसेका नागरिकहरू झोलुङ्गे पुल हुँदै गाउँ फर्किरहेको उनले जानकारी दिए।
वर्षेनी नारायणी नदीको कटान, डुबान र बाढीको त्रास झेल्दै आएका सुस्तावासी अहिले पानीको बहाव घटेसँगै केही राहत महसुस गर्दै आफ्नो दैनिक जीवनमा फर्कन थालेका छन्।
सतर्कता भने कायमै
यद्यपि वर्षाको मौसम अझै बाँकी रहेकाले नदीको बहाव फेरि बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय प्रशासन तथा सुरक्षा निकायले तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्।
प्रशासनले नदी किनारमा अनावश्यक रूपमा नजान, मौसम तथा नदीको बहावसम्बन्धी आधिकारिक सूचना पालना गर्न र जोखिम बढेमा तत्काल सुरक्षित स्थानमा जान स्थानीयवासीलाई अनुरोध गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्