काठमाडौं । मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर सरेसँगै नेपालमा मनसुन सक्रिय हुने सम्भावना बढेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तरमा रहेको छ भने नेपालको पूर्वी भूभागमा सरदर स्थानकै आसपास रहेको छ।
मौसमविद्का अनुसार मनसुनको न्यूनचापीय रेखा नेपाल नजिकिँदा वर्षाको गतिविधि बढ्ने गर्छ। महाशाखाले बिहान ८ बजे जारी गरेको मौसम बुलेटिनअनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
तराईमा पनि वर्षा हुने
रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।
मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा समेत मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ थप नजिकिँदै गएमा वर्षाको गतिविधि अझ बढ्न सक्ने भएकाले नदी तथा खोलानाला आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्