टीकापुर । भोटेकोशीमा बुधबार बिहान आएको भीषण बाढीले धनजनको क्षति पुर्याएको खबरसँगै टीकापुरका गाउँमा चिन्ता छाएको छ। भोटेकोशी जलविद्युत् आयोजनामा काम गर्न गएका टीकापुरका युवाहरू सम्पर्कविहीन भएपछि परिवारजनमा बेचैनी बढेको हो।
परिवारजनका अनुसार टीकापुर नगरपालिका–१ समितिपुरबाट मात्रै जलविद्युत् आयोजनामा काम गर्न गएका १० जना युवा सम्पर्कविहीन छन्। उनीहरूमध्ये अधिकांश सुरुङमार्गमा काम गर्ने गरेका थिए।
सम्पर्कविहीन हुनेमा वीरबहादुर चौधरी, शनिसराम चौधरी, जुगराम चौधरी, शिवनारायण चौधरी, बादल चौधरी, दोर्जे भनिने भुवन चौधरी, खुसीराम चौधरी, मनिराम चौधरी, अन्तराम चौधरी र मानबहादुर चौधरी रहेका छन्।
वीरबहादुरकी श्रीमती सुगन्ती चौधरीका अनुसार उनी करिब डेढ महिनाअघि कामका लागि रसुवा गएका थिए। ‘हरेक दिन दिउँसो १२ बजेतिर कुराकानी हुन्थ्यो। आज कुरा हुन सकेन। बाढी आएको सुनेपछि फोन गर्न कोसिस गरेँ तर साँझसम्म सम्पर्क हुन सकेन,’ उनले भनिन्।
समितिपुरका तुलाराम चौधरीले उनीहरूलाई कामका लागि रसुवा लगेका थिए। बाढी आउँदा तुलाराम र भान्से दिलु चौधरी कोठामै रहेको र त्यसपछि भागेर सुरक्षित स्थानतर्फ गएको बताइएको छ। सुरुङमा काम गर्न गएका युवाहरूको भने त्यसपछि अवस्था अज्ञात रहेको परिवारजनले बताएका छन्।
तुलारामलाई बिहान साढे ११ बजेतिर फोन आएको र त्यस क्रममा दिलु डाँडातिर भागिरहेको तथा सुरुङमा गएकाहरूको अवस्था थाहा नभएको जानकारी दिइएको तुलारामकी छोरीले बताइन्।
वर्षायाम सुरु भएपछि तुलाराममार्फत समितिपुरलगायत क्षेत्रबाट ४० जनाभन्दा बढी युवा कामका लागि रसुवा पुगेको बताइएको छ। समितिपुरका बरघर तथा सम्पर्कविहीन मानबहादुर चौधरीका भाइ अखिल थारुले विभिन्न बस्तीबाट धेरै युवा गएको भए पनि सबैको नाम यकिन हुन नसकेको बताए।
एकतापुरका ९ युवा पनि सम्पर्कविहीन
टीकापुर नगरपालिका–१ कै एकतापुरबाट पनि कामका लागि रसुवा गएका ९ जना युवा सम्पर्कविहीन भएका छन्।
भदौ २ गते कामका लागि रसुवा गएका आशिष चौधरीकी श्रीमती दिलकुमारी चौधरीका अनुसार बुधबार बिहान ७ बजे श्रीमान्सँग अन्तिम पटक कुराकानी भएको थियो। त्यसपछि भने सम्पर्क हुन सकेको छैन।
यस्तै राजकुमार थारूकी श्रीमती शान्ति चौधरी र विपतराम चौधरीकी श्रीमती फुलमती चौधरी पनि श्रीमान्को अवस्थाबारे जानकारी लिन तुलाराम चौधरीको घर पुगेका छन्।
शान्तिका अनुसार राजकुमारसँगै राजकपुर चौधरी, कमला चौधरीलगायत ९ जना युवा कामका लागि रसुवा गएका हुन्।
प्रहरीसँग समन्वय
बाढीपछि केही व्यक्तिको उद्धार गरी अस्पताल लगिएको तथा केहीलाई हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा सारिएको खबर आए पनि उद्धार गरिएकाहरूको नाम सार्वजनिक नहुँदा परिवारजन थप चिन्तित भएका छन्।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले रसुवामा काम गर्न गएका व्यक्तिका परिवारसँग समन्वय गरी उनीहरूको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको बताए।
बेपत्ता युवाहरूको खोजी तथा उनीहरूको अवस्थाबारे जानकारी प्राप्त गर्न स्थानीय प्रहरी र परिवारजनबीच समन्वय भइरहेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्