काठमाडौं । रसुवाको भोटेकोसी तथा नुवाकोट हुँदै बग्ने त्रिशूली नदीमा शनिबार बिहान पानीको बहाव सामान्य रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शनिबार बिहान ६ः१० बजेसम्म दुवै नदीमा पानीको बहावमा ठूलो उतारचढाव देखिएको छैन। महाशाखाका एसिस्टेन्ट हाइड्रोलोजिस्ट प्रभाकर यादवले नदीको पानीको सतह तीव्र रूपमा बढेको अवस्था नरहेको जानकारी दिए।
“भोटेकोसी र त्यसभन्दा तलको नदीमा पानीको बहाव सामान्य देखिएको छ। पानीको सतह तीव्र वृद्धि भएको देखिएको छैन,” यादवले बताए।
यद्यपि, चीनको तिब्बततर्फ यसअघि विनाशकारी बाढी आएको स्थानको पछिल्लो अवस्थाबारे थप सूचना प्राप्त भइनसकेको महाशाखाले जनाएको छ।
भदौ १० गते तिब्बतको ल्हेन्दे खोलाबाट आएको भीषण बाढी रसुवा प्रवेश गरेको थियो। बाढीले रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ।
यसैबीच, बाढीको उद्गमस्थलतर्फ नदी थुनिएर अस्थायी ताल बनेको र त्यसका कारण जोखिम अझै कायम रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
हाल नदीको बहाव सामान्य रहे पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै भोटेकोसी तथा त्रिशूली नदीको तटीय क्षेत्रका बासिन्दालाई आधिकारिक सूचनामा ध्यान दिन र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्