काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले विपद् प्रभावित नागरिकको खोज तथा उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल प्रहरीलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण गरेको छ।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा चेम्बरका वरिष्ठ उपाध्यक्ष तथा विपद् व्यवस्थापन परिषद्का सभापति दीपककुमार मल्होत्राले नेपाल प्रहरीलाई ड्रोन हस्तान्तरण गरेका हुन्।
हस्तान्तरण गरिएका ड्रोनमध्ये २ वटा म्याभिक फोर प्रो, ५ वटा एयर थ्री एस एफएमसी आरसी टु, २ वटा मिनी फाइभ प्रो प्लस एफएमसी आरसी टु, ६ वटा लिटो वान प्लस एफएमसी आर थ्री र २ वटा लिटो एक्स वान एफएमसी आर टु रहेका छन्।
ड्रोन हस्तान्तरण कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामिछाने तथा वरिष्ठ प्रहरी उपरीक्षक दामोदर कँडेललगायतको उपस्थिति थियो।
कठिन भूगोलमा उद्धारलाई सहज बनाउने अपेक्षा
चेम्बरका अनुसार विपद्का कारण प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी, तीव्र र प्रविधिमैत्री बनाउन ड्रोनले महत्वपूर्ण सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
विशेषगरी कठिन भौगोलिक अवस्था तथा जोखिमयुक्त क्षेत्रमा मानिसको प्रत्यक्ष पहुँच सीमित हुने भएकाले ड्रोनमार्फत प्रभावित क्षेत्रको निगरानी, क्षतिको अवस्था पहिचान तथा उद्धार कार्यको समन्वय गर्न सहज हुने विश्वास गरिएको छ।
यसअघि पनि चेम्बरले उद्धार कार्यलाई प्रभावकारी बनाउन ५० किलोसम्म पेलोड बोक्न सक्ने एउटा ड्रोन र एउटा सर्भिलेन्स ड्रोन विदुर नगरपालिकामा पठाइसकेको जनाएको छ।
त्यस्तै, प्रभावित क्षेत्रमा सञ्चार तथा अत्यावश्यक विद्युतीय उपकरण सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले १२५ वटा पावर बैंकसमेत उपलब्ध गराइसकेको छ।
राहत संकलन र वितरण अभियान पनि जारी
चेम्बरले विपद् प्रभावित नागरिकका लागि राहत संकलन तथा वितरण अभियानसमेत सञ्चालन गरिरहेको जनाएको छ।
रसुवा, नुवाकोट र धादिङलगायत प्रभावित जिल्लामा भदौ ११ गते नै नगद तथा जिन्सी सहयोग उपलब्ध गराइएको र राहत अभियानलाई थप विस्तार गर्दै सहयोगलाई निरन्तरता दिइने चेम्बरले जनाएको छ।
विपद्को समयमा अत्यावश्यक प्रविधि, उपकरण तथा राहत सामग्री परिचालनमार्फत सरकारी उद्धार संयन्त्रलाई सहयोग गर्ने उद्देश्यले निजी क्षेत्रबाट भइरहेका प्रयासलाई समेत चेम्बरले निरन्तरता दिने जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्