विराटनगर । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि कोशी प्रदेशबाट १ सय ३८ जना सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ।
बाढीपछि स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा पुगेका तथा सम्पर्कविहीन भएका व्यक्तिको विवरण उपलब्ध गराउन आग्रह गरेको थियो। प्रशासनको आग्रहपछि आफन्तले दिएको सूचनाका आधारमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट १ सय ३८ जना सम्पर्कविहीन भएको विवरण संकलन गरिएको हो।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सम्पर्कविहीनमध्ये १५ जना भने सम्पर्कमा आएका छन्। बाँकी १ सय २३ जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सोलुखुम्बुका ३९ जना सम्पर्कविहीन छन्। ओखलढुंगाका २० जना, मोरङका १६ जना, सुनसरीका १५ जना र उदयपुरका १५ जना सम्पर्कविहीन रहेको प्रदेश प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो।
त्यस्तै, झापाका १० जना, खोटाङका ८ जना, इलामका ७ जना, संखुवासभाका ३ जना, धनकुटा र ताप्लेजुङका २–२ जना तथा भोजपुरका १ जना अझै सम्पर्कविहीन रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार रोजगारी, व्यापार, पर्यटन, अन्य काम तथा धार्मिक भ्रमणका लागि रसुवा, नुवाकोट, धादिङलगायत बाढी प्रभावित क्षेत्रमा पुगेका व्यक्तिहरू बाढीपछि सम्पर्कविहीन भएका हुन्।
प्रशासन तथा प्रहरीले सम्पर्कविहीन व्यक्तिबारे थप विवरण संकलन तथा खोजी कार्य जारी राखेको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्