उदयपुर । उदयपुरमा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
सोमबार बिहान करिब ९ः४५ बजे बेलका नगरपालिका–५, जहडामा सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र. ०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको को १ ख ३५१६ नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा परी बेलका नगरपालिका–५, मैनीकी ३४ वर्षीया मन्दिरा मगरको उपचारका क्रममा मृत्यु भएको छ। अटोमा सवार अर्की एक महिलाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। उनको नाम, उमेर र ठेगाना भने खुल्न बाँकी रहेको छ।
दुवै जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहान करिब ११ः४५ बजे मृत्यु घोषणा गरिएको थियो।
दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्। घाइतेमध्ये बेलका नगरपालिका–५, मैनीका १८ वर्षीय रोशन मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। मोरङको विराटनगर महानगरपालिका–१२ का १९ वर्षीय अजित गुरुङको अवस्था मध्यम रहेको छ। अर्का एक घाइतेको परिचय भने खुल्न बाँकी रहेको छ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेको थियो। स्थानीय अस्पतालमा प्रारम्भिक उपचारपछि उनीहरूलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेको अटो प्रहरी चौकी लालबजारको नियन्त्रणमा रहेको छ। बस र बस चालक बेलका नगरपालिका–५, घुम्नेका करिब ३६ वर्षीय विक्रम थापालाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्