विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार प्रदेशसभामा भएको मतदानमा उनको पक्षमा ५७ मत परेको हो।
मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा सत्ता साझेदार दल नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ जना प्रदेशसभा सदस्यले मतदान गरेका थिए।
प्रस्तावको विपक्षमा नेपाली कांग्रेसका सांसदहरूले मतदान गरेका छन्। कांग्रेसका २९ प्रदेशसभा सदस्यमध्ये २२ जना मतदान प्रक्रियामा सहभागी भएका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सभामुखसहित पाँच जना प्रदेशसभा सदस्य मतदान प्रक्रियामा तटस्थ रहेका थिए। त्यस्तै, जनता समाजवादी पार्टीकी एकमात्र प्रदेशसभा सदस्य निर्मला लिम्बु बैठकमा अनुपस्थित रहिन्।
९३ सदस्यीय कोसी प्रदेशसभामा एक सदस्यले राजीनामा दिएपछि हाल ९२ सदस्य कायम छन्। सोमबारको प्रदेशसभा बैठकमा ८३ जना सदस्य उपस्थित रहेका थिए।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्