काठमाडौं । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत सिगात्सेको ग्यिरोङ जिल्लामा बनेको अवरोध ताल (ब्यारियर लेक) को आपत्कालीन अवस्थाबारे मूल्याङ्कन गर्न चिनियाँ उद्धार सहयोग टोली तथा विपद् विशेषज्ञहरू घटनास्थल पुगेका छन्।
चिनियाँ सञ्चारमाध्यम सीजीटीएनका अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो विशेषज्ञ टोली तालको बाँधको विपरीत किनारसम्म पुगेको हो। टोलीले घटनास्थलमै पुगेर तालको वर्तमान अवस्था, पानीको सतह र सम्भावित जोखिमबारे निगरानी तथा मूल्याङ्कन गरिरहेको छ।
आपत्कालीन प्रतिकार्यलाई प्रभावकारी बनाउन टोलीले ड्रोनमार्फत हवाई निगरानी गरिरहेको छ। साथै, पानीको सतह मापन गर्न सेन्सरसमेत प्रयोग गरिएको जनाइएको छ।
वास्तविक समयको तथ्यांक संकलन गरी तालको अवस्थाबारे निरन्तर जानकारी लिने र सम्भावित जोखिमको पूर्वमूल्याङ्कन गर्ने उद्देश्यले यी उपकरण परिचालन गरिएको हो।
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीसँग सम्बन्धित घटनापछि नेपाल–चीन सीमावर्ती क्षेत्रमा बनेको अवरोध तालको अवस्थालाई दुवै देशले उच्च प्राथमिकताका साथ निगरानी गरिरहेका छन्। तालको पानीको सतहमा हुने परिवर्तन तथा सम्भावित जोखिमबारे तल्लो तटीय क्षेत्रमा समेत निरन्तर सतर्कता अपनाउन आग्रह गरिएको छ।

Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्