काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उद्धार गरिएका घाइतेमध्ये ४८ जनालाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका लागि ल्याइएको छ।
अस्पतालले शुक्रबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार दिउँसो ४ बजेसम्म बाढीबाट प्रभावित ४८ जनामध्ये २७ जना उपचाररत छन्। २१ जना उपचारपछि डिस्चार्ज भएका छन् भने एक जनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
उपचाररत बिरामीमध्ये ६ जना सघन उपचार कक्ष (आईसीयू) मा छन्। त्यस्तै, एक जना बिरामीलाई भेन्टिलेटरको सहायतामा उपचार भइरहेको अस्पतालले जनाएको छ।
अस्पतालमा उपचाररत घाइतेहरूमा ५ वर्षका बालकदेखि ५० वर्ष उमेर समूहका व्यक्ति रहेको बताइएको छ।
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको आकस्मिक बाढीपछि उद्धार गरिएका घाइतेलाई हेलिकोप्टर तथा अन्य माध्यमबाट काठमाडौं ल्याएर विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्रिवि शिक्षण अस्पताल पनि बाढी प्रभावित घाइतेको उपचारका लागि प्रमुख उपचार केन्द्रमध्ये एकका रूपमा परिचालन गरिएको छ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ भने उद्धार, बेपत्ता नागरिकको खोजी तथा घाइतेको उपचार कार्य जारी छ।


Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्