काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीलाई जलवायु परिवर्तन र भूमण्डलीय वाष्पीकरणसँग जोड्दै आदिवासी/जनजातिसँग सम्बन्धित विभिन्न संघसंस्थाले यसको जिम्मेवारी विश्वका धनी तथा सम्पन्न मुलुकहरूले लिनुपर्ने बताएका छन् ।
आदिवासी/जनजाति संयुक्त मोर्चा, नेपाल, नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) र समाजवादी आदिवासी जनजाति महासंघ नेपालले संयुक्त प्रेस वक्तव्य जारी गर्दै जलवायु परिवर्तनका कारण नेपालजस्ता कमजोर तथा विकासोन्मुख मुलुकले प्राकृतिक विपद्को असमान भार बोक्नुपरेको बताएका हुन् ।
भदौ १० गते भोटेकोशी खोलामा अचानक आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ । कैयौँ बजार तथा बस्ती बाढीले बगाएर बगरमा परिणत भएका छन् भने घर, कार्यालय, पुल तथा सडकमा ठूलो क्षति पुगेको छ ।
संयुक्त वक्तव्यमा भनिएको छ, “विश्वका धनी र सम्पन्न मुलुकहरूले सिर्जना गरेको भूमण्डलीय वाष्पीकरण र जलवायु परिवर्तनका कारण यस्ता बेमौसमी प्राकृतिक प्रकोपका घटनाहरू हुन्छन्, तर विडम्बना यस्ता घटनाहरूको दुष्परिणाम भोग्न र पीडित हुन नेपालजस्ता गरीब एवं अविकसित देशहरू पर्दछन् ।”
उनीहरूले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर भने गम्भीर रूपमा भोग्नुपरेको भन्दै यस विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन् ।
बेपत्ताको खोजी र घाइतेको उपचार तीव्र बनाउन माग
संघसंस्थाहरूले बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन रहेका नागरिकको खोजी कार्यलाई थप तीव्र बनाउन सरकारसँग माग गरेका छन् ।
त्यस्तै, बाढीमा परी घाइते भएकाहरूलाई निःशुल्क तथा शीघ्र उपचारको व्यवस्था गर्न पनि उनीहरूले आग्रह गरेका छन् ।
आदिवासी/जनजाति संयुक्त मोर्चा नेपालका संयोजक सुरेश आले मगर, नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी)का अध्यक्ष वीरबहादुर बुढाथोकी मगर तथा समाजवादी आदिवासी जनजाति महासंघ नेपालका उपाध्यक्ष मनमाया छन्त्यालले संयुक्त रूपमा वक्तव्य जारी गरेका हुन् ।
उनीहरूले विपद्बाट प्रभावित समुदायको तत्काल उद्धार तथा राहतसँगै भविष्यमा यस्ता विपद्को जोखिम न्यूनीकरणका लागि जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्