पोखरा । भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहलाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार संकटग्रस्त क्षेत्र घोषणा गरिएको सूचना नेपाल राजपत्रमा प्रकाशित भएको हो । राजपत्रमा प्रकाशित सूचनाअनुसार ती स्थानीय तहलाई राजपत्रमा सूचना प्रकाशित भएको मितिले तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै नेपाल–चीन सिमानास्थित भोटेकोशी–ल्हेन्दे खोलामा आएको बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त घोषणा गरेको जनाएको छ ।
कुन–कुन स्थानीय तह संकटग्रस्त ?
रसुवा
- उत्तरगया गाउँपालिका
- गोसाइँकुण्ड गाउँपालिका
- कालिका गाउँपालिका
- आमाछोदिङमो गाउँपालिका
नुवाकोट
- विदुर नगरपालिका
- बेलकोटगढी नगरपालिका
- किस्पाङ गाउँपालिका
- तारेश्वर गाउँपालिका
धादिङ
- गल्छी गाउँपालिका
- सिद्धलेक गाउँपालिका
- गजुरी गाउँपालिका
- बेनीघाट रोराङ गाउँपालिका
गोरखा
- गण्डकी गाउँपालिका
तनहुँ
- देवघाट गाउँपालिका
- आँबुखैरेनी गाउँपालिका
भोटेकोशीमा आएको बाढीले रसुवा र नुवाकोटबाट सुरु भएर त्रिशूली नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो । बाढीको प्रभाव धादिङ, गोरखा, तनहुँ हुँदै चितवन तथा नवलपरासीसम्म पुगेको थियो ।
विपद् संकटग्रस्त क्षेत्र घोषणा भएसँगै प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनःस्थापना तथा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउन सरकारलाई थप कानुनी तथा प्रशासनिक आधार प्राप्त हुने अपेक्षा गरिएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्