काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा पुरिएकी एक बालिकाको ६० घण्टापछि जीवितै उद्धार गरिएको छ ।
सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) टिमुरे नजिकैबाट बालिकाको जीवितै उद्धार गरिएको हो । बाढी र भग्नावशेषमा पुरिएकी बालिकाको आवाज सुनेपछि सुरक्षाकर्मीले तत्काल खोजी सुरु गरेका थिए ।
सशस्त्र प्रहरी निरीक्षक एसबी गुरुङका अनुसार उद्धारका क्रममा बालिकाले ‘आमा, आमा’ भनेको आवाज सुनिएपछि सुरक्षाकर्मीले उनको अवस्थाबारे पत्ता लगाएका थिए ।
“हामीले ‘आमा, आमा’ भनेको आवाज सुन्यौँ । त्यसपछि बालिकालाई बचाउन सफल भयौँ,” गुरुङले भने, “बाढी गएको ६० घण्टापछि हामीले उनलाई बचाउन सफल भयौँ ।”
उद्धारपछि बालिकालाई तत्काल उपचारका लागि राखिएको छ । उनको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।
बालिकाको परिचय अझै खुल्न सकेको छैन । उनका परिवारका सदस्यहरू समेत हालसम्म सम्पर्कमा नआएको सशस्त्र प्रहरीले जनाएको छ ।
भोटेकोशी बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायतका प्रभावित क्षेत्रमा बेपत्ता नागरिकको खोजी तथा उद्धार जारी छ । भग्नावशेष तथा बाढीले पुरिएका संरचनामा समेत सुरक्षाकर्मीले खोजीलाई तीव्र बनाएका छन् ।
६० घण्टापछि जीवित बालिका भेटिनुले भग्नावशेषभित्र अझै कोही जीवित हुनसक्ने सम्भावनालाई थप बल दिएको छ । त्यसैले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप तीव्र बनाउनुपर्ने देखिएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्