काठमाडौं । रसुवाको भोटेकोसी नदीमा पुनः ठूलो बाढी आएको छ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार ल्हेन्दे खोला हुँदै भोटेकोसीमा पुनः बाढी आएको हो। बाढीको बहाव बढेपछि नदी तटीय क्षेत्रमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।
अधिकारीले बाढीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको बताए।
यसअघि भदौ १० गते बुधबार ल्हेन्दे खोला हुँदै भोटेकोसीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो।
त्यस बाढीबाट नदी किनारका बस्ती, सडक, पुल तथा विभिन्न भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो भने ठूलो संख्यामा नागरिकको ज्यान गएको र धेरै मानिस सम्पर्कविहीन भएका छन्।
पहिलेको विपत्तिबाट प्रभावित क्षेत्रमा पुनः बाढी आएपछि तटीय क्षेत्रमा थप जोखिम उत्पन्न हुन सक्ने भएकाले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा रहन र नदी तथा खोलाको किनारमा नजान आग्रह गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्