काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन नेपाल निर्माण व्यवसायी महासंघले देशभरका आफ्ना सदस्यसँग सवारीसाधन उपलब्ध गराउन अपिल गरेको छ।
महासंघका महासचिव शिवहरि घिमिरेले शनिबार परिपत्र जारी गर्दै पिकअप, मिनीट्रक लगायतका सवारीसाधन तत्काल उपलब्ध गराउन सदस्यहरूलाई आग्रह गरेका हुन्।
महासंघले भोटेकोसीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा अकल्पनीय मानवीय तथा भौतिक क्षति पुर्याएको जनाएको छ। यस्तो संकटको समयमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नु साझा दायित्व भएको महासंघको भनाइ छ।
बाढीबाट अतिप्रभावित रसुवा, नुवाकोटलगायत क्षेत्रमा राहत सामग्री तत्काल पुर्याउन तथा हजारौँ प्रभावित नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा लैजान सवारीसाधनको आवश्यकता परेको महासंघले जनाएको छ।
महासंघले भौतिक पूर्वाधार विकास मन्त्रालयसँगको समन्वयमा राहत तथा उद्धार अभियान सञ्चालन गर्न आवश्यक सवारीसाधन जुटाउन लागेको हो।
महासंघले आफ्ना सदस्य व्यवसायीहरूलाई मानवीय सेवाका लागि पिकअप, मिनीट्रक लगायत उपलब्ध सवारीसाधन तत्काल परिचालन गर्न आग्रह गरेको छ।
महासंघका अनुसार विपद्को यस कठिन घडीमा निजी क्षेत्रका निर्माण व्यवसायीको स्रोत, साधन र जनशक्तिलाई उद्धार तथा राहतमा परिचालन गर्दा प्रभावित नागरिकसम्म आवश्यक सामग्री पुर्याउन र उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्