पोखरा । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी सहायक हवल्दार दीपेन्द्र विष्टको शव भेटिएको छ।
पाल्पाको तानसेन नगरपालिका–१० घर भएका ३४ वर्षीय विष्ट इलाका प्रहरी कार्यालय टिमुरे, रसुवामा कार्यरत थिए। बाढीपछि बेपत्ता भएका उनको शव त्रिशूली नदीले बगाउँदै लगेको अवस्थामा गोरखामा फेला परेको हो।
शव व्यवस्थापनका लागि पोखरा महानगरपालिका–१० रामघाटस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो। शनिबार परिवारका सदस्यले शवको पहिचान गरेपछि अन्त्येष्टिका लागि घर लगिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।
उनका अनुसार मृतक विष्टका दाजु दीपकबहादुरले शवको सनाखत गरेका हुन्।
रसुवामा आएको बाढीपछि विभिन्न जिल्लामा फेला परेका १०२ शव पोखरा ल्याइएको छ। शनिबार साँझसम्म ५० शवको परीक्षण सम्पन्न भएको र तीमध्ये १२ शवको पहिचान भएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव पहिचानका लागि बेपत्ता व्यक्तिका परिवारजन आउने क्रम बढेको छ। प्रतिष्ठानले शव पहिचान सहज बनाउन स्क्रिनमा शवका तस्बिर हेर्न सकिने व्यवस्था मिलाएको छ।
शव व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले पहिचान तथा व्यवस्थापनको काम भइरहेको बताए।
‘हुलियासहितको विवरण हेल्प डेस्कमा राखेर स्क्रिनमा पीडित परिवारले आएर हेर्न सक्ने प्रबन्ध गरेका छौँ,’ उनले भने।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्