पोखरा । भोटेकोशी बाढीपछि पोखरा ल्याइएका पहिचान हुन नसकेका शवको वैकल्पिक व्यवस्थापन गर्ने तयारी गरिएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएका शव लामो समयसम्म पहिचान हुन नसकेपछि व्यवस्थापन प्रक्रिया अघि बढाइएको हो।
शनिबारसम्म १०२ शव पोखरा ल्याइएकामा १० वटा शवको पहिचान गरी आफन्तलाई बुझाइएको छ। बाँकी शवबाट दुर्गन्ध फैलिन थालेपछि पहिचानका लागि आवश्यक सबै नमुना संकलन गरेर व्यवस्थापन गर्ने तयारी गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए।
उनका अनुसार बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७८ र अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) को विपद् व्यवस्थापनसम्बन्धी मापदण्डअनुसार शव व्यवस्थापन गरिनेछ। भविष्यमा पहिचान गर्न सकिने गरी डिएनए नमुना सुरक्षित राखिनेछ भने शवसम्बन्धी विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिनेछ।
प्रशासनले शवको फोटो, भिडियो, ट्याटु तथा अन्य पहिचान खुल्ने चिन्हको अभिलेख राखिसकेको छ। डिएनए परीक्षणका लागि नमुना पनि संकलन भइसकेको छ। सकेसम्म पहिचान गरी आफन्तलाई शव बुझाउने प्रयास भने जारी रहने बरालले बताए।
शनिबार साँझसम्म ४६ शवको पोस्टमार्टम भइसकेको छ। बाढी तथा पहिरोमा परी विभिन्न जिल्लामा ६६९ जनाको शव फेला परेको जनाइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्