कास्की । पोखरामा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको तीव्र भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ।
पोखरा महानगरपालिका–१७, हर्कचोकस्थित जनप्रिय क्याम्पस जाने चोकमा भएको घटनामा पोखरा–३०, ढुंगेपाटनकी २६ वर्षीया सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी रानीका दाहालको मृत्यु भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिइन्।
भेलले बगाएपछि उद्धार गरी दुवैलाई गण्डकी मेडिकल कलेज पुर्याइएको थियो। उपचारका क्रममा सुष्माको शुक्रबार राति नै मृत्यु भएको थियो भने उनकी दुई वर्षीया छोरी रानीकाको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कमल दाहाल श्रीमती सुष्मा र छोरी रानीकालाई स्कुटरमा राखेर बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै थिए। शुक्रबार साँझ परेको अविरल वर्षाका कारण सडकमा पानीको बहाव अत्यधिक बढेपछि उनले हर्कचोकमा स्कुटर रोकेका थिए।
स्कुटरबाट ओर्लिने क्रममा अचानक आएको भेलले दुई वर्षीया रानीकालाई बगाएर सडकको नालीतर्फ पुर्याएको थियो। छोरीलाई बचाउन आमा सुष्मा पनि नालीतर्फ पुगेकी थिइन्। त्यसपछि तीव्र बहावले आमाछोरी दुवैलाई बगाउँदै करिब दुई किलोमिटर तल बिरौटासम्म पुर्याएको थियो।
घटनापछि श्रीमान् कमलले हारगुहार गरेपछि स्थानीयवासी र प्रहरीले तत्काल उद्धार अभियान थालेका थिए। खोजीका क्रममा आमाछोरीलाई पोखरा–१७, बिरौटास्थित नहरको कुलोबाट अचेत अवस्थामा उद्धार गरिएको थियो।
उनीहरूलाई तत्काल अस्पताल पुर्याइए पनि चिकित्सकले दुवैलाई बचाउन सकेनन्।
यस घटनाले पोखराका सहरी सडक तथा नालीको कमजोर व्यवस्थापनका कारण भारी वर्षाका बेला सडकमा जम्मा हुने पानी र तीव्र बहावले निम्त्याउन सक्ने जोखिमलाई पुनः उजागर गरेको छ। विशेषगरी छोटो समयमा अत्यधिक वर्षा हुँदा सडक नै खोलाजस्तो बन्ने अवस्थाले पैदलयात्री तथा सवारीसाधनमा यात्रा गर्नेहरूलाई गम्भीर जोखिममा पार्ने गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्