काठमाडौं । त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाली सेनासहितको प्राविधिक टोली परिचालन गरिएको छ। आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख तथा साइटमा कार्यरत इन्जिनियरसहित नेपाली सेनाको टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको हो। टोलीले आयोजनास्थलको भौगोलिक तथा प्राविधिक अवस्थाको स्थलगत निरीक्षण गरी सम्भावित जोखिमको मूल्यांकन गर्दै सुरक्षित रूपमा उद्धार अघि बढाइरहेको जनाइएको छ। उद्धारमा संलग्न विभिन्न निकायबीच आवश्यक समन्वयसमेत भइरहेको छ। प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण उद्धार कार्य जटिल बने पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरिएको छ। पछिल्लो तथ्यांकअनुसार त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा अझै १२२ जना सम्पर्कविहीन छन्। हालसम्म ९१ जनाको उद्धार गरिएको जनाइएको छ। उद्धार टोलीले सम्पर्कविहीन व्यक्तिको खोजीलाई प्राथमिकतामा राख्दै जोखिमयुक्त क्षेत्रमा समेत आवश्यक सावधानी अपनाएर अभियान जारी राखेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्