ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढीमा मृत्यु भएकाको वैज्ञानिक प्रमाण सुरक्षित राखेर शव व्यवस्थापन


ABC NEWS
१५ भदौ २०८३, सोमबार   ६ : ०५   बजे

काठमाडौँ । भोटेकोशी हिमबाढीमा परी मृत्यु भएकामध्ये तत्काल सनाखत हुन नसकेका शवलाई वैज्ञानिक प्रमाण सुरक्षित राखेर जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ।

प्रशासनले मृत मानव अङ्गलाई ‘बेवारिसे’ मानेर अन्त्येष्टि गर्न लागेको नभई प्रत्येक शवसँग सम्बन्धित प्रमाण सुरक्षित राखेर भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी जमिनमुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको जनाएको छ।

कतिपय शव सग्लो अवस्थामा नरहेका, केही कुहिन थालेका तथा ठूलो संख्यामा शव फेला परेका कारण अस्पताल तथा अस्थायी शवगृहमा लामो समयसम्म राख्न कठिन र असुरक्षित हुने भएपछि कानुनी तथा अन्तर्राष्ट्रिय अभ्यासअनुसार शव व्यवस्थापनको प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार प्रत्येक शवको तस्बिर, हुलिया, शरीरमा रहेका विशेष चिह्न, फरेन्सिक विवरण र डीएनए नमुना सुरक्षित राखेर मात्रै व्यवस्थापन गरिँदैछ।

उहाँले भन्नुभयो, “शवको व्यवस्थापन भनेको तत्काल हटाउने वा अन्तिम संस्कार गर्ने होइन। भविष्यमा आफन्तले सनाखत गर्न सक्ने गरी प्रत्येक शवका वैज्ञानिक प्रमाण सुरक्षित राखेर जमिनमुनि सुरक्षित व्यवस्थापन गर्न लागिएको हो।”

शव फेला परेको स्थान, शवको अवस्था र छुट्टै कोड नम्बरसमेत अभिलेखमा राखिने भएकाले वर्षौँपछि पनि आफन्तले दाबी गरेमा वैज्ञानिक परीक्षणमार्फत सनाखत गरी शव बुझाउन सकिने उहाँले बताउनुभयो।

यस्तो अभ्यास अन्य विकसित मुलुकमा समेत रहेको उहाँको भनाइ छ।

निर्देशिकाअनुसार शव व्यवस्थापन

प्रवक्ता काफ्लेका अनुसार ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयबाट यस्तो व्यवस्थापन गरिएको हो।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरीका अनुसार बाढीले ल्याएका धेरै शव क्षतविक्षत तथा कुहिएको अवस्थामा रहेकाले तत्काल पहिचान गर्न कठिन भइरहेको छ।

शवलाई लामो समयसम्म शीतभण्डारणमा राख्न पनि सम्भव नहुने उहाँको भनाइ छ।

शिक्षण अस्पतालको शवगृहमा सामान्य अवस्थामा करिब १५० शव राख्न सकिने र क्षमताभन्दा बढी शव राख्दा थप असुरक्षित हुने भएकाले जमिनमुनि सुरक्षित रूपमा शव व्यवस्थापन गर्ने अभ्यास वैज्ञानिक दृष्टिले समेत उचित मान्न सकिने डा. चौधरीले बताउनुभयो।

उनका अनुसार विकसित मुलुकमा पनि यस्ता विपद्का बेला वैज्ञानिक प्रमाण सुरक्षित राखेर शव व्यवस्थापन गर्ने अभ्यास रहेको छ।

चितवनमा २७२ शव व्यवस्थापनको प्रक्रिया

नारायणगढ । बाढीले बगाएर चितवनका त्रिशूली र नारायणी नदी किनारमा फेला परेका शवको व्यवस्थापन नेपालको कानुन तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताउनुभएको छ।

शव व्यवस्थापनलाई लिएर विभिन्न टीकाटिप्पणी हुन थालेपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले शवको दाहसंस्कार वा अन्तिम संस्कार नगरिएको स्पष्ट पार्नुभयो।

अर्यालले भन्नुभयो, “यो दाहसंस्कार होइन, अन्तिम संस्कार पनि होइन। माटोमुनि राखेर व्यवस्थापन मात्रै गरिएको हो। पछि डीएनए मिल्ने परिवार आएमा पहिचानका आधारमा शव उपलब्ध गराउन सकिन्छ।”

चितवनमा हालसम्म २६४ शव फेला परेका छन्। तीमध्ये १० शवको सनाखत भइसकेको छ भने बाँकी २५४ शव व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको छ।

शनिबारदेखि सुरु भएको शव व्यवस्थापन आइतबार पनि जारी रहेको र सोमबारसम्म पूरा गर्ने तयारी गरिएको चितवन प्रहरीले जनाएको छ।

भरतपुर अस्पतालका फरेन्सिक विशेषज्ञ डा. सुरज शर्माका अनुसार शवको पहिचानमा सहयोग पुग्ने कोठी, टाटुजस्ता विशेष चिह्न पोस्टमार्टम प्रतिवेदनमा उल्लेख गरिएको छ।

डीएनए परीक्षणका लागि सम्भव भएसम्म दाँत र त्यसो गर्न नसकिने अवस्थामा हड्डीको नमुना संकलन गरिएको उहाँले जानकारी दिनुभयो।

७९४ शव फेला

नेपाल प्रहरीका अनुसार भोटेकोशी बाढीपछि विभिन्न जिल्लाबाट हालसम्म ७९४ शव फेला परेका छन्।

प्रहरीका अनुसार रसुवाबाट १३, नुवाकोटबाट ५४, धादिङबाट ५०, चितवनबाट २६४, गोरखाबाट ६१, तनहुँबाट ३७, पूर्वी नवलपरासीबाट १९७ र पश्चिम नवलपरासीबाट १२० शव फेला परेका छन्।

बाढीले बगाएर ल्याएका शवको तत्काल पहिचान गर्न नसकिने अवस्थामा समेत भविष्यमा आफन्तले सनाखत गर्न सक्ने आधार सुरक्षित राख्ने गरी व्यवस्थापन गर्ने प्रयास भइरहेको छ।

यस प्रक्रियाले एकातिर जनस्वास्थ्य र वातावरणीय जोखिम घटाउने उद्देश्य राखेको छ भने अर्कोतर्फ बेपत्ता आफन्तको खोजीमा रहेका परिवारका लागि भविष्यमा वैज्ञानिक विधिबाट पहिचान गर्ने बाटो खुला राखेको छ।

तर प्रत्येक शवसँग जोडिएको मानवीय, धार्मिक र सांस्कृतिक संवेदनशीलतालाई ध्यानमा राख्दै शव व्यवस्थापनसँगै अभिलेख, डीएनए नमुना र अन्य फरेन्सिक प्रमाणको सुरक्षित संरक्षणलाई उत्तिकै प्राथमिकता दिनुपर्ने देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चिलिमे जलविद्युत् आयोजनाको सुरुङबाट दुई शव निकालिए, ८९७ जना अझै सम्पर्कविहीन

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७८८ पुग्यो

सम्बन्धित

मोरङ कारागारका कैदीबन्दीद्वारा प्रशासन र प्रजिअविरुद्ध नाराबाजी

बागलुङमा अवैध काठ ओसारपसार गर्ने तीन जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu