काठमाडौं । नेपाली सेना र भारतबाट आएको विशेषज्ञ उद्धार टोलीले आइतबार रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको शव निकालेको छ।
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा आयोजनास्थलमा फसेका व्यक्तिको खोजी तथा उद्धार आइतबार पनि तीव्र पारिएको थियो। उद्धारका लागि नेपाली सेनासँगै भारत र चीनबाट आएका विशेषज्ञ टोलीसमेत परिचालन गरिएको छ।
सरकारका अनुसार अहिले त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’, लाङटाङ, चिलिमेलगायत जलविद्युत् आयोजनामा फसेका व्यक्तिको खोजी तथा उद्धार जारी छ।
त्रिशूली–३ ‘ए’ मा प्रवेशद्वार खोल्ने प्रयास
माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङको पोर्टसम्म उद्धार टोली पुगेको छ। अहिले सुरुङको प्रवेशद्वार सफा गर्ने काम भइरहेको छ।
पोर्ट सफा भएपछि अक्सिजनसहित उद्धारकर्मीलाई सुरुङभित्र पठाउने तयारी गरिएको छ। उद्धारकर्मीले क्यामरासमेत लिएर सुरुङभित्र प्रवेश गर्ने भएकाले भित्रको वास्तविक अवस्था बाहिरबाटै निरीक्षण गर्न सकिने अपेक्षा गरिएको छ।
उद्धार टोलीका अनुसार पोर्टबाट करिब १८० मिटर अगाडि सम्भावित ‘वर्किङ स्पेस’ सम्म पुग्न सकिने अनुमान गरिएको छ। उक्त स्थानमा पुगेपछि सुरुङभित्र फसेका व्यक्तिको अवस्था, स्थान र उनीहरूको सुरक्षाबारे थप जानकारी प्राप्त हुने अपेक्षा छ।
सुरुङभित्र फसेका व्यक्तिको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरले शनिबारदेखि नै ब्लास्टिङसहितका प्रयास गरिरहेका छन्।
उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी ९० सदस्यीय संयुक्त टोलीपरिचालित छ।
टोलीले सुरुङको मुख्य भाग ‘क्राउन हेड’ सम्म पुगेर २×३ फिटको प्वाल बनाएको थियो। डोरीको सहायताले टोली तल झरेर भित्र रहेका व्यक्तिलाई बोलाउँदा कुनै प्रतिक्रिया नआएपछि ठूला उपकरण, ब्लास्टिङ तथा प्वाल फराकिलो बनाउने काम एकसाथ अघि बढाइएको छ।
रातभर उत्खनन, आवश्यक परे ‘कन्ट्रोल्ड ब्लास्टिङ’
सुरुङमा उद्धारका लागि आइतबार रातभर उत्खननको काम जारी राख्ने तयारी गरिएको छ।
उत्खननसँगै सुरुङभित्र भेन्टिलेसनको व्यवस्था मिलाउने र अक्सिजन पठाउने काम पनि समानान्तर रूपमा अघि बढाइनेछ।
उद्धारकर्मी घस्रिएर जान सक्ने गरी ‘क्रल–थ्रु’ बाटो बनाउने तयारी गरिएको छ। उक्त बाटो हुँदै स्ल्याबको माथिबाट सुरुङको डक्टको माथिल्लो भागसम्म पुगेर भित्रको अवस्था निरीक्षण गर्ने योजना छ।
यसरी सुरुङभित्र पुग्ने पहुँच बनाउन सम्भव नभए सोमबार बिहानै नेपाली सेनाले ‘कन्ट्रोल्ड ब्लास्टिङ’ गर्ने वैकल्पिक योजना बनाएको छ।
उद्धारपछि घाइतेलाई तत्काल उपचार गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै मेडिकल टोलीसमेत तयारी अवस्थामा राखिएको छ।
नेपाल विद्युत् प्राधिकरणका सम्बन्धित विभागीय प्रमुख, उत्पादन केन्द्र तथा आयोजना प्रमुखलगायतलाई घटनास्थलमै रहेर नेपाली सेना तथा विज्ञ टोलीसँग समन्वय गरी उद्धार प्रभावकारी बनाउन निर्देशन दिइएको छ।
त्रिशूली–३ ‘बी’ मा पनि उद्धार प्रयास
त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा नेपाली सेनासहित प्राविधिक टोली परिचालन गरिएको छ।
आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख तथा साइट इन्जिनियरसहितको टोलीले घटनास्थलको भौगोलिक तथा प्राविधिक अवस्था निरीक्षण गर्दै उद्धार कार्य अघि बढाइरहेको सरकारले जनाएको छ।
चीनबाट आएको प्राविधिक टोलीसमेत नेपाली सेनासँग समन्वय गरी उद्धार कार्यमा संलग्न छ।
रसुवागढीमा ९३ जना सम्पर्कविहीन
रसुवागढी जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन ९३ जनाको खोजी आइतबारदेखि उपकरणसहित सुरु गरिएको छ।
शनिबारसम्म भौतिक रूपमा खोजी सुरु हुन नसकेकोमा आइतबार बल्ल उपकरणसहितको उद्धार टोली आयोजनाको विद्युत्गृहसम्म पुगेको हो।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार सम्पर्कविहीनमध्ये रसुवागढी हाइड्रोपावर कम्पनीका ४९ जना कर्मचारी, दुई जना ज्यालादारी कर्मचारी, शेर्पा हाइड्रो कन्स्ट्रक्सनमा कार्यरत ३५ जना, सीडब्ल्यूईका चार जना र भेनस कन्स्ट्रक्सनका तीन जना छन्।
भूमिगत डिसेन्डरमा फसेका छ जनामध्ये चार जना दुई दिन लगाएर आफैँ बाहिर निस्कन सफल भएका थिए। उनीहरूलाई नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याएको छ।
तीन जना भने सुरक्षित स्थानमा गएर ज्यान जोगाउन सफल भएको इप्पानले जनाएको छ।
लाङटाङ खोलामा ४१ जना अझै फसेको आशंका
लाङटाङ खोला जलविद्युत् आयोजनाबाट यसअघि १९ जनाको उद्धार भइसकेको छ। तर सुरुङमा फसेका ४१ जनाको अझै उद्धार हुन सकेको छैन।
निजी क्षेत्रको उक्त आयोजनामा आइतबार मात्रै उद्धारका लागि आवश्यक उपकरणसहित नेपाली सेनाको टोली परिचालन गरिएको हो।
टोलीले खोजी तथा निरीक्षण गरे पनि अहिलेसम्म सफलता हात पर्न सकेको छैन।
मैलुङ खोला जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन सात जनाको अवस्था पनि अझै अज्ञात छ। सरकारसँग पटकपटक पहल गर्दा पनि खोजीमा ढिलाइ भएको इप्पानको गुनासो छ।
माथिल्लो त्रिशूली–१ मा करिब ३०० जना फसेको आशंका
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा पनि आइतबार उद्धार हुन सकेन।
चीनबाट आएको विशेषज्ञ उद्धार टोली यही आयोजनामा खटिएको छ। हालसम्म सुरक्षित स्थानमा रहेका २५४ जनाको उद्धार भइसकेको भए पनि सुरुङभित्र फसेकाको खोजीमा उल्लेख्य प्रगति हुन सकेको छैन।
आयोजनामा रहेका ५७६ जनामध्ये करिब ३०० जना सुरुङभित्र फसेको आशंका गरिएको छ।
११ आयोजनाबाट ८९७ जना सम्पर्कविहीन
इप्पानका अनुसार रसुवा र नुवाकोटमा बाढीबाट प्रभावित ११ जलविद्युत् आयोजनाबाट कुल ८९७ जना सम्पर्कविहीन छन्।
रसुवाको माथिल्लो त्रिशूली–१ बाट ५७६ जना, रसुवागढीबाट ९३ जना, रसुवा–भोटेकोशीबाट चार जना, लाङटाङ खोलाबाट ४१ जना, चिलिमेबाट आठ जना र मैलुङ खोलाबाट सात जना गरी रसुवाका आयोजनाबाट मात्रै ७२९ जना सम्पर्कविहीन छन्।
यस्तै, नुवाकोटको त्रिशूली जलविद्युत् र देवीघाट जलविद्युत् आयोजनाबाट एक–एक जना सम्पर्कमा छैनन्। मिडल त्रिशूली गंगाबाट दुई जना, माथिल्लो त्रिशूली–३ ‘ए’बाट ४२ जना र माथिल्लो त्रिशूली–३ ‘बी’बाट १२२ जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ।
यसरी बाढी आएको चार दिन बितिसक्दा पनि सयौँ मानिसको अवस्था अज्ञात छ।
सुरुङभित्र फसेकाको उद्धारमा पानी, माटो, भग्नावशेष, सीमित पहुँच र भेन्टिलेसनको चुनौती देखिएको छ। त्यसैले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै भारत र चीनबाट आएका विशेषज्ञको प्राविधिक सहयोगमा उद्धार अभियान अघि बढाइएको छ।
चिलिमेको सुरुङबाट दुई शव निकालिनु खोजी अभियानका क्रममा प्राप्त भएको पहिलो महत्वपूर्ण परिणाममध्ये एक हो। तर अझै सयौँ परिवार आफ्ना आफन्त सुरक्षित रहेको खबरको प्रतीक्षामा छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्