पोखरा । रसुवा बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका ८ सयभन्दा बढी शव भेटिए पनि अधिकांशको सनाखत हुन सकेको छैन। आइतबार रातिसम्म ८२३ शव भेटिएकामा ३२ जनाको मात्रै पहिचान खुलेको प्रहरीले जनाएको छ।
पहिचान खुल्न नसकेका शवको संख्या बढ्दै गएपछि खोज तथा उद्धारसँगै शव व्यवस्थापन सरकारका लागि थप चुनौतीपूर्ण बनेको छ। शवको सनाखतमा सहयोग गर्न भारतबाट फरेन्सिक विशेषज्ञ टोलीसमेत आइतबार नेपाल आएको छ।
प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार भेटिएका शवमध्ये चार प्रतिशतभन्दा कमको मात्रै सनाखत भएको छ। क्षतविक्षत अवस्थामा शव भेटिएकाले पहिचान गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
सनाखतमा ढिलाइ हुँदा शव राख्ने ठाउँको अभाव हुन थालेपछि सरकारले केही शवलाई एयरटाइट प्लास्टिक झोलामा प्याक गरी माटोमुनि सुरक्षित राख्न थालेको छ। त्यसअघि शवको डीएनए नमुना र औँठाछाप संकलन गर्ने गरिएको छ। पछि पहिचान खुलेमा सम्बन्धित परिवारलाई शव हस्तान्तरण गर्ने गरी यस्तो व्यवस्थापन गरिएको गृह मन्त्रालयका अधिकारीहरूको भनाइ छ।
तर, शव जमिनमुनि गाड्ने सरकारको निर्णयप्रति कतिपयले आलोचना गरेका छन्। गृह मन्त्रालयका अधिकारी भने तत्कालका लागि यो बाध्यात्मक र अस्थायी व्यवस्थापन भएको बताउँछन्। शव राख्ने स्थान सीमित हुनुका साथै ठूलो क्षमताका रेफ्रिजेरेटर तत्काल व्यवस्थापन गर्न नसक्ने अवस्था भएकाले यस्तो विधि अपनाइएको उनीहरूको भनाइ छ।
आइतबारसम्म २२८ शव जमिनमुनि सुरक्षित रूपमा गाडिएको छ।
बेत्रावतीमा बल्ल खोज तथा उद्धार टोली
बाढीबाट ठूलो क्षति पुगेको नुवाकोट–रसुवा सीमाक्षेत्र बेत्रावतीमा आइतबारदेखि मात्रै प्रहरीको खोज तथा उद्धार टोली परिचालन गरिएको छ। एसएसपीको कमान्डमा प्रहरी टोली खटाइएको हो।
प्रहरीका अनुसार शवको मुचुल्का तयार पार्नेदेखि फरेन्सिक परीक्षणसम्मका लागि विशेषज्ञसहितको टोली परिचालन गरिएको छ। बेत्रावती बजारमा बाढीले सयौँ घर बगाएको छ। स्थानीयका अनुसार क्षेत्रमा शवका कारण दुर्गन्ध फैलिन थालेको छ।
बाढीले घरमा रहेका व्यक्तिलाई समेत बगाएको थियो। सार्वजनिक सवारीसाधनसमेत यात्रुसहित बाढीमा बगेका थिए। रसुवामा पनि फरेन्सिक विशेषज्ञसहितको प्रहरी टोली आइतबारदेखि परिचालन गरिएको प्रहरीले जनाएको छ।
बाढीपीडित क्षेत्रमा चोरीको जोखिम
यसैबीच बाढीपीडित क्षेत्रमा चोरी तथा लुटपाटका घटना बढ्न थालेका छन्। बाढीबाट क्षतिग्रस्त घरमा अनधिकृत व्यक्तिहरू प्रवेश गर्ने र सामान चोरी हुने गरेको भन्दै प्रहरीमा उजुरी पर्न थालेका छन्।
बट्टार बजारमा एक वृद्धाको कानको मुन्द्रासमेत लुटिएको प्रहरीले जनाएको छ। सुरक्षाकर्मी खोज तथा उद्धार र राहत वितरणमा बढी केन्द्रित भइरहेका बेला क्षतिग्रस्त घर तथा बजार क्षेत्रमा चोरीका घटना बढ्न थालेका हुन्।
Originally published on abcnews.com.np.




प्रतिक्रिया दिनुहोस्