ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशीको त्यो दिन : केही सेकेन्डले छुट्याएको जीवन र मृत्यु


ABC NEWS
१६ भदौ २०८३, मंगलबार   १० : ३५   बजे

 

काठमाडौँ  :“टिमुरे बजारमा पुगेर खाजा खाने योजना बनाएका थियौँ । तर केही मिनेटपछि त्यही बाटो युद्धभूमिजस्तो देखियो । चारैतिर धुलोको मुस्लो, मानिसको चिच्याहट, भागदौड र कोलाहल थियो । त्यो क्षण सम्झँदा अहिले पनि शरीर सिरिङ्ग हुन्छ।”

रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट जोगिएका सेवानिवृत्त सैनिक राजेन्द्र थापाको यो अनुभव केवल एउटा व्यक्तिको कथा होइन । यो भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट मृत्युको मुखबाट फर्किएका सयौँ मानिसको साझा पीडा हो ।

बाढीले घर, सडक, पुल र बजार मात्र बगाएन, बाँचेकाहरूको मनमा जीवनभर नमेटिने त्रास पनि छाडेको छ ।

“मैले पहिलो पटक जीवन र मृत्युबिचको दुरी कति छोटो हुन्छ भन्ने अनुभूति पाएँ,” थापाले भने ।

थापा साथीहरूसँग रसुवातर्फ जाँदै थिए । बाटोमा सामान्य चहलपहल थियो । केही मिनेटपछि त्यही ठाउँ विनाशको केन्द्र बन्छ भन्ने कल्पनासमेत कसैले गरेका थिएनन् ।

अचानक ठूलो आवाज सुनिन थाल्यो । उत्तरतर्फ हेर्दा धुलोको मुस्लो आकाशतर्फ उठिरहेको थियो ।

“हामीभन्दा अगाडि मोटरसाइकलमा गएका साथीहरूलाई रोक्न खोज्यौँ । तर उहाँहरू अगाडि बढिसक्नुभएको थियो,” थापाले सम्झिए ।

स्थिति असामान्य देखिएपछि उनीहरू सडक छाडेर माथितिर दौडिए । केही सेकेन्डमै उनीहरूले लिएको निर्णय जीवन र मृत्युबीचको अन्तर बन्यो ।

“हामी सिधै उकालोतिर भाग्यौँ । पछि फर्केर हेर्दा तलको दृश्य युद्ध जस्तो थियो । मानिसहरू कराइरहेका थिए, भागिरहेका थिए । हिलो, धुलो र पानीले सबै ढाकेको थियो,” उनले भने ।

उनका अनुसार त्यहाँबाट बाँचेर निस्कन सफल भएका मानिसहरू भाग्यले मात्र बाँचेका थिए ।

‘केही मिनेटअघि चिया खाएको होटल नै रहेन’

अर्का प्रत्यक्षदर्शी अच्युतप्रसाद सुवेदीका लागि पनि त्यो दिन जीवनको सबैभन्दा त्रासदीपूर्ण क्षण बन्यो ।

वेत्रावतीमा स्नान गरेर रसुवातर्फ उकालो लागेका सुवेदीले सुरुमा ठूलो आवाज मात्र सुनेका थिए । तर केही मिनेटमै त्यो आवाज विनाशको संकेत बन्यो ।

“उकालो चढ्न थालेको तीन मिनेट पनि भएको थिएन । मेरो आँखाअगाडि बाढीले सबै कुरा बगायो,” उनले भने ।

केही मिनेटअघि मात्र चिया खाएको होटल, वरपरका पसल र बजार हेर्दाहेर्दै पानीको भेलमा हराए ।

“सेकेन्डको महत्व कति हुन्छ भन्ने कुरा जीवनमा पहिलो पटक बुझेँ । केही क्षण यताउता भएको भए हामी पनि त्यहीँ हुन्थ्यौँ,” सुवेदीले भने ।

बाढीसँगै सञ्चार सम्पर्क पनि टुट्यो । मोबाइलमा नेटवर्क आएन । परिवार र आफन्तसँग सम्पर्क गर्ने कुनै उपाय रहेन ।

“एक्कासि नेटवर्क गयो । फोन लागेन । मानौँ संसारसँगको सम्पर्क नै टुट्यो । त्यसपछि केवल पानीको गर्जन र मानिसहरूको चिच्याहट मात्र सुनिन्थ्यो,” उनले सम्झिए ।

केही समयपछि चिच्याहट पनि रोकियो । बाँकी रह्यो त केवल खोलाको गर्जन ।

‘त्यो त हिमाली सुनामीजस्तै थियो’

काठमाडौँका मातृका नेपालले देखेको बाढीको दृश्यलाई शब्दमा बयान गर्न कठिन छ ।

उनका केही साथी खोलामै बगे । उनी भने केही मिटर माथि भएकाले जोगिए ।

“पानी खोलाभन्दा सयौँ मिटर माथि आएको थियो । मैले यति ठूलो जलराशि कहिल्यै देखेको थिइनँ,” नेपालले भने ।

उनलाई त्यो दृश्यले चलचित्रमा देखिने सुनामीको सम्झना गरायो ।

“चलचित्रमा सुनामी देखेको थिएँ । त्यो दिन प्रत्यक्ष त्यस्तै दृश्य देखेँ । मलाई त यो हिमाली सुनामी नै लाग्यो,” उनले भने ।

भोटेकोशीको बाढीको तीव्रता यति भयावह थियो कि नदीको सामान्य बहाव क्षेत्रभन्दा निकै माथिसम्म पानी र गेग्रान पुगेको प्रत्यक्षदर्शीहरूको भनाइ छ ।

बाँचिए, तर साथीहरू कहाँ छन् ?

मातृका नेपालका लागि आफू बाँच्नु मात्र खुसीको कुरा बनेन । अहिले उनका अगाडि अर्को पीडादायी प्रश्न छ—सँगै गएका साथीहरू कहाँ छन् ?

“परिवारका सदस्यहरूले ‘हाम्रा मान्छे कहाँ छन् ?’ भनेर सोध्न थाल्नुभएको छ । मसँग उत्तर छैन,” उनले भावुक हुँदै भने ।

उनी आफैँ भने भिरमा उम्रिएको एउटा लहरामा अड्किएर जोगिएका थिए ।

“सायद त्यो लहरा नभएको भए म पनि बगिसक्थेँ,” उनले भने ।

बाढीले उनलाई प्रकृतिको शक्तिका अगाडि मानिसको सामर्थ्य कति कमजोर हुन्छ भन्ने अनुभूति गराएको छ ।

“प्रकृतिले चाहेमा हामी मेटिन कति पनि समय लाग्दो रहेनछ,” नेपालले भने ।

केही सेकेन्डको निर्णय

भोटेकोशी–त्रिशूलीको बाढीपछि बाँचेकाहरूका कथा सुन्दा एउटा साझा तथ्य देखिन्छ—विपत्तिको समयमा केही सेकेन्डको निर्णयले जीवनको दिशा बदल्न सक्छ ।

कसैले धुलोको मुस्लो देखेर खतरा महसुस गरे र उकालो दौडिए । कसैले जोखिम नबुझेर अघि बढे । कोही पानीको भेलमा परे, कोही रूख, लहरा वा भिरको सहाराले बाँचे ।

आज उनीहरू बाँचेर आफ्ना कथा सुनाइरहेका छन् । तर ती कथाभित्र आफ्ना साथी, आफन्त र परिचितको खोजीको पीडा पनि मिसिएको छ ।

भोटेकोशीको त्यो गर्जन केवल पानीको आवाज थिएन । त्यो प्रकृतिको असीम शक्तिको चेतावनी थियो ।

एकैछिनमा सडक नदी बन्यो, बजार भग्नावशेषमा बदलियो र सयौँ परिवारको जीवनको कथा फेरियो । बाँचेकाहरूका आँखामा अहिले पनि त्यही दृश्य छ—धुलोको मुस्लो, पानीको गर्जन र मृत्युबाट उम्किन दौडिरहेका मानिसहरू ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीको शोकमा करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम स्थगित

झापाको काँकडभिट्टा सीमा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ प्रयोग

सम्बन्धित

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ११४ पुग्यो

भोटेकोसी बाढी : मृतकको संख्या १ हजार ११८ पुग्यो

फोटो बोकेर आफन्त खोज्दै परिवार : शवगृह भरिएपछि सुरु भयो ‘अन्तिम प्रतीक्षाको’ अर्को पीडा

भोटेकोशी बाढीपछि बीमा दाबी २५ अर्ब नाघ्यो, क्षति बढ्दै जाँदा खर्ब पुग्ने अनुमान

त्रिशूलीको बीचमा बाढीले घेरेको घर : ६ जनाको ज्यान जोगियो, – ‘पुनर्जन्म भयो’

इनिशा विक मृत्यु प्रकरण : तीन नाबालकलाई अभिभावकको जिम्मा लगाउन सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu