काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि राहत, उद्धार तथा पुनःस्थापनाका विषयमा छलफल गर्न मंगलबार सर्वदलीय बैठक बोलाएको छ।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण, बेपत्ता व्यक्तिको खोजी, शव व्यवस्थापन तथा प्रभावित क्षेत्रको पुनःस्थापनाका विषयमा छलफल गरिनेछ।
बैठकमा विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहरू सहभागी हुनेछन्। विपद्पछिको तत्कालीन राहत तथा उद्धारलाई प्रभावकारी बनाउनुका साथै दीर्घकालीन पुनःस्थापनाका लागि राजनीतिक दलहरूबीच साझा धारणा निर्माण गर्ने उद्देश्यले बैठक आयोजना गरिएको रास्वपाले जनाएको छ।
बैठकमा बाढी प्रभावित क्षेत्रमा राज्यका विभिन्न निकायबाट भइरहेका उद्धार तथा राहत कार्यको समीक्षा गरिनेछ। साथै, हाल भइरहेका प्रयासमा देखिएका कमजोरी पहिचान गरी उद्धार, राहत र पुनःस्थापनालाई थप प्रभावकारी बनाउने उपायबारे छलफल हुनेछ।
भोटेकोशी बाढीपछि ठूलो जनधनको क्षति हुनुका साथै हजारौँ नागरिक सम्पर्कविहीन रहेको अवस्थामा राजनीतिक दलहरूबीच समन्वय र साझा पहल आवश्यक रहेको रास्वपाको भनाइ छ।
बैठकले तत्कालीन राहत तथा उद्धारसँगै सडक, पुल, विद्युत्, सञ्चारलगायत क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र प्रभावित परिवारको दीर्घकालीन पुनःस्थापनाका विषयमा समेत राजनीतिक तहबाट आवश्यक पहलका लागि साझा बाटो तय गर्ने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्