सुर्खेत । कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । मंगलबार (भदौ १६) बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईले जानकारी दिए ।
मन्त्री पछाईका अनुसार बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यसँगै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र विपद् व्यवस्थापनका लागि उक्त रकम प्रदान गर्न लागिएको हो । यसबाट विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै पुनर्निर्माणका काममा समेत सहयोग पुग्ने प्रदेश सरकारको अपेक्षा छ ।
यसैगरी मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयले तयार पारेको ‘शिक्षा क्षेत्र योजना, २०८३–२०९२’ पनि स्वीकृत गरेको छ । कर्णाली प्रदेशको शिक्षा क्षेत्रलाई आगामी १० वर्षसम्म योजनाबद्ध रूपमा अघि बढाउने उद्देश्यले तयार पारिएको उक्त योजना प्रदेश सरकारले स्वीकृत गरेको हो ।
Originally published on abcnews.com.np.



प्रतिक्रिया दिनुहोस्