बागलुङ । भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि बागलुङका निर्माण व्यवसायी र होटल व्यवसायीले आर्थिक सहयोग गरेका छन् । निर्माण व्यवसायी संघ बागलुङले १ लाख १ सय ७ रुपैयाँ र होटल व्यवसायी संघ बागलुङले १ लाख ४५ हजार १ सय रुपैयाँ सहयोग गरेका हुन् ।
निर्माण व्यवसायी संघ बागलुङका अध्यक्ष रामराज गुरुङका अनुसार बाढी प्रभावितको राहतका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । संघले बाढीमा बेपत्ता भएकाहरूको सकुशल उद्धार तथा प्रभावित परिवारको सुरक्षित पुनःस्थापनाका लागि निर्माण व्यवसायीहरूलाई व्यक्तिगत रूपमा समेत सहयोग गर्न आग्रह गरेको छ ।
यसैगरी होटल व्यवसायी संघ बागलुङले पनि बाढीपीडितका लागि १ लाख ४५ हजार १ सय रुपैयाँ सहयोग गरेको छ । संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई नगद हस्तान्तरण गरेको हो ।
भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएकाले प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको संघकी उपाध्यक्ष ललिता थापाले जानकारी दिइन् ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्