काठमाडौं । राष्ट्रियसभा सदस्य प्रेमप्रसाद दंगालले भोटेकोसी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका मजदुरको उद्धारमा ढिला नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बाढी आएको छैटौँ दिनसम्म पनि आयोजनामा कार्यरत मजदुरको उद्धार हुन नसक्दा मानवीय संवेदनामै चुक्ने अवस्था आएको भन्दै उनले तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरे ।
राष्ट्रियसभाको बैठकमा बोल्दै दंगालले एकैछिनको प्रलयकारी बाढीले मानव सभ्यतामाथि नै चुनौती सिर्जना गरेको बताए । उनले बाढीपछि उत्पन्न अवस्थाको व्यवस्थापनका लागि दीर्घकालीन योजनासहित अघि बढ्न सरकारको ध्यानाकर्षण गराए । नदी किनारमा देखिएका शवसमेत समयमै व्यवस्थापन हुन नसकेको भन्दै उनले बेपत्ताको खोजीलाई तीव्रता दिन र फेला परेका शव परिवारको जिम्मा लगाउन आग्रह गरे ।
“आजसम्म पनि नदी किनारामा देखिएका शवसमेत उद्धार हुन नसकेको अवस्था छ । ती शवहरू सङ्कलन गरी परिवारको जिम्मा लगाउन माग गर्दछु,” उनले भने, “जलविद्युत् आयोजना क्षेत्रमा अझै मजदुरहरू उद्धारको पर्खाइमा छन् । ती मजदुरहरूको उद्धारमा ढिला गर्नुहुन्न । जीवित छँदै उद्धार गरेर मानवीयताको रक्षा गर्नुपर्ने आवश्यकता छ ।”
दंगालले विपद्को सामना गर्न संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए । उनले बाढीबाट भएको क्षतिको आकलन तथा प्रभावित क्षेत्रमा आवश्यकताको पहिचान गरी विस्थापित समुदायको पुनःस्थापनाको स्पष्ट खाका बनाउन सरकारलाई आग्रह गरे ।
विस्थापित नागरिकलाई सुरक्षित रूपमा पुनःस्थापना गर्न **‘एकीकृत सुरक्षित बस्ती’**को अवधारणा अघि बढाउनसमेत उनले सरकारको ध्यानाकर्षण गराए ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्