काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान ९ः३० बजे बस्नेछ। बैठकमा रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभावबारे छलफल हुने कार्यसूची रहेको छ।
बाढी–पहिरोका कारण रसुवाका पर्यटकीय क्षेत्र, पदमार्ग, होटल तथा पर्यटन पूर्वाधारमा परेको क्षति र आगामी दिनमा पर्यटन क्षेत्रको पुनरुत्थानका लागि चाल्नुपर्ने कदमबारे समितिमा छलफल हुने अपेक्षा गरिएको छ।
त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक मध्याह्न १२ः१५ बजे बस्नेछ। बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ।
दुवै समितिको बैठकमा सम्बन्धित विषयमा छलफल गरी आवश्यक सुझाव तथा निर्णयका लागि प्रक्रिया अघि बढाइने संसद् सचिवालयले जनाएको छ।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्