चितवन । रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा फेला परेका शवमध्ये ३३५ वटा शव व्यवस्थापन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हालसम्म चितवनमा ३४८ वटा शव फेला परेका छन्। तीमध्ये १२ वटा शवको सनाखत भएको छ भने एउटा शव व्यवस्थापन गर्न बाँकी छ।
व्यवस्थापन गरिएका शवमध्ये १२९ वटा शवको लिंगसमेत पहिचान हुन सकेको छैन। यस्तै, १०७ पुरुष, ७३ महिला, १५ बालिका र ११ बालकका शव रहेको प्रहरीले जनाएको छ।
सनाखत हुन नसकेका शवको व्यवस्थापनमा कठिनाइ भएपछि डीएनए नमुना सुरक्षित राखेर देवघाटको जंगलमा खाल्डो खनी शव व्यवस्थापन गर्न थालिएको हो। भरतपुर महानगरपालिका–१ स्थित देवघाट जंगलमा मंगलबार रातिसम्म शव व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए।
प्रहरीका अनुसार शनिबार ९६, आइतबार १०३, सोमबार ८१ र मंगलबार ५५ वटा शव व्यवस्थापन गरिएको थियो।
शवबाट डीएनए नमुना सुरक्षित राखेर व्यवस्थापन गरिएको र सनाखत भएका शव परीक्षणपछि परिवारलाई बुझाइएको प्रहरी उपरीक्षक पौडेलले बताए।
यसैबीच, नदी किनारमा शव फेला पर्ने क्रम अझै जारी छ। शवको खोजी तथा व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।
शव पहिचानका लागि आफन्तको डीएनए नमुना सङ्कलन
भोटेकोसी बाढीपछि फेला परेका तर सनाखत हुन नसकेका शवको पहिचानका लागि चितवनमा आफन्तको डीएनए नमुना सङ्कलन सुरु गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भक्तपुर सेवा इकाइ र जनस्वास्थ्य कार्यालयको सहयोगमा भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग सङ्घको परिसरमा मंगलबारदेखि नमुना सङ्कलन थालेको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म डीएनए नमुना सङ्कलन भइरहेको छ।
हराइरहेका व्यक्तिका बुबा, आमा, छोरा वा छोरीमध्ये कुनै एकजनाको रगतको नमुना प्राथमिकताका आधारमा सङ्कलन गरिनेछ। नमुना दिन आउने व्यक्तिले आफ्नो पहिचान खुल्ने आधिकारिक कागजात र दुई प्रति पासपोर्ट आकारको फोटो ल्याउन प्रहरीले आग्रह गरेको छ।
नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाका प्रहरी निरीक्षक सन्देशकुमार पोखरेलका अनुसार शवबाट मुख्यतः दाँत र हड्डीका नमुना सङ्कलन गरी डीएनए प्रोफाइल तयार गरिन्छ। त्यसपछि उक्त प्रोफाइललाई आफन्तबाट सङ्कलन गरिएको डीएनएसँग म्याचिङ गरेर मृतकको पहिचान गरिनेछ।
पहिलो तहका आफन्त उपलब्ध नभएको अवस्थामा दाजुभाइ वा दिदीबहिनीको डीएनए नमुनाबाट समेत पहिचान गर्न सकिने प्रहरीले जनाएको छ।
नेपालका प्रयोगशालाको क्षमता प्रयोग गर्नुका साथै वैदेशिक सहयोगसमेत परिचालन गरी कम्तीमा १२ हप्ता अर्थात् तीन महिनाभित्र सबै नमुनाको परीक्षण तथा डीएनए म्याचिङ सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
चितवनबाहिर रहेका आफन्तले आफू बसेकै जिल्लाको जिल्ला प्रहरी कार्यालयमा पुगेर डीएनए नमुना दिन सक्ने व्यवस्था गरिएको छ।
विदेशमा रहेका पहिलो तहका आफन्तले सम्बन्धित देशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगमार्फत नमुना उपलब्ध गराउन सक्नेछन्। साथै, नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत आफ्नो डीएनए प्रोफाइलको ‘सफ्ट कपी’ पठाएर पनि पहिचान प्रक्रियामा सहभागी हुन सकिने प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्