काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर र पूर्वतर्फ सरदर स्थानकै आसपास रहेको छ।
महाशाखाले बुधबार बिहान ८ बजे जारी गरेको मौसम पूर्वानुमानअनुसार दिउँसो देशका हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस, कोसी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कोसीको हिमाली भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। तराईका थोरै स्थानमा समेत मध्यम वर्षा हुनसक्ने तथा कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।
काठमाडौँमा दिउँसोपछि वर्षा
काठमाडौँ उपत्यकामा पनि आज दिउँसोपछि वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अपराह्न २/३ बजेपछि उपत्यकामा बादल बढ्दै गएर वर्षा सुरु हुनसक्ने छ।
उनका अनुसार उपत्यकाका अधिकांश स्थानमा मध्यम वर्षा हुने र केही स्थानमा भने तुलनात्मक रूपमा ठूलो वर्षा पनि हुनसक्ने सम्भावना छ।
मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिमी भूभागतर्फ तुलनात्मक रूपमा नजिक रहेकाले पश्चिमी क्षेत्रमा वर्षाको सम्भावना बढी रहेको मौसमविद्हरूले बताएका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्