ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीपछि ‘एलो गुम्बा’मा विस्थापितको आश्रय, दुई सयभन्दा बढीको एउटै छानो


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ८ : ५५   बजे

काठमाडौँ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढी र पहिरोले हजारौँ मानिसको घरबार उजाडिएको छ। कसैको घर छैन, कसैसँग लगाउने कपडा छैन। कतिपयले आफन्त गुमाएका छन् भने कतिपय अझै आफ्ना परिवारका सदस्यको अवस्थाबारे अनभिज्ञ छन्।

यस्तै विपत्तिमा परेका **दुई सयभन्दा बढी विस्थापितले काठमाडौँको फुन्सोक छोलिङ गुम्बा (एलो गुम्बा)**मा अस्थायी आश्रय पाएका छन्। भिक्षुहरू बस्ने गुम्बाले विपद्को समयमा घरबारविहीन बनेकाहरूका लागि आफ्नो ढोका खोलेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार गुम्बामा अहिले दुई सयभन्दा बढी विस्थापित परिवारका सदस्य बसिरहेका छन्।

रसुवा समाज नामक संस्थाले रसुवाबाट विस्थापित भएका परिवारलाई उद्धार गरी काठमाडौँ ल्याएर गुम्बामा राखेको हो। रसुवाका युवाहरूको पहलमा विस्थापितहरूलाई काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ।

गुम्बामा बस्नेहरूका लागि नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न संघसंस्थाले खानाको व्यवस्था गरिरहेका छन्। आवश्यकताअनुसार स्थानीय तहले पनि सहयोग गर्दै आएका छन्।

नागार्जुन नगरपालिकाकी कार्यवाहक नगरप्रमुख सुशीला अधिकारीका अनुसार गुम्बामा कहिलेकाहीँ खाना पकाउने ग्यासको अभाव हुने गरेको छ। त्यस्तो अवस्थामा स्थानीय तहसँग समन्वय गरेर व्यवस्था मिलाउने गरिएको छ। काठमाडौँ महानगरपालिकाले समेत ग्यास उपलब्ध गराउँदै आएको उनले बताइन्।

नगरपालिकाले विस्थापित परिवारको स्वास्थ्य परीक्षणका लागि डाक्टरसहितको स्वास्थ्य टोली समेत गुम्बामा खटाएको छ।

गुम्बाको ठूलो हलमा म्याट्रेस बिछ्याएर विस्थापितलाई सुत्ने व्यवस्था गरिएको छ। केही परिवार दिनभर गुम्बामा बसेर साँझ आफन्तको घर जाने गरेका छन् भने धेरैजसो त्यहीँ बसिरहेका छन्।

“यो आपत्कालीन समयमा अस्थायी रूपमा बस्नका लागि उहाँहरूलाई त्यहाँ राम्रो व्यवस्था भएको छ,” कार्यवाहक नगरप्रमुख अधिकारीले भनिन्।

तर, गुम्बाभित्रको दृश्य भने अझै पीडादायी छ। कोही हराएका आफन्तको खोजीमा छन्, कोही बाढीले दिएको त्रासबाट बाहिर आउन सकेका छैनन्। वृद्ध महिलाहरू एकअर्कालाई सान्त्वना दिइरहेका छन् भने बालबालिका राहतमा पाएका कापी–कलममा लेखेर समय बिताइरहेका छन्।

रसुवाबाट उनीहरूलाई हेलिकप्टरमार्फत उद्धार गरी नुवाकोट ल्याइएको थियो। त्यसको भोलिपल्ट सरकारले उद्धारका लागि सञ्चालन गरेको गाडीमार्फत उनीहरू काठमाडौँ आइपुगेका हुन्।

गुम्बामा आश्रय लिएका धेरैसँग न पर्याप्त कपडा छ, न पैसा। कतिपयले परिवारका सदस्य गुमाएका छन् भने कतिपयका आफन्त अझै बेपत्ता छन्।

विस्थापितहरूको राहत तथा व्यवस्थापनमा रसुवा समाजका युवाहरू ठूलो संख्यामा खटिएका छन्। उनीहरूले विस्थापितको विवरण संकलन गर्ने, खाना तथा राहत सामग्री वितरण गर्ने र आवश्यक समन्वय गर्ने काम गरिरहेका छन्।

बाढीपछि उद्धार सुरु भएको भदौ १२ गते गुम्बामा करिब १५० जना आएका थिए। त्यसमध्ये करिब ७० जना गुम्बामै खाने, बस्ने र सुत्ने गरेका थिए भने अन्य आफन्तको घरमा जाने गरेका थिए। अहिले भने गुम्बामा आश्रय लिनेको संख्या दुई सयभन्दा बढी पुगेको छ।

खाना र स्वास्थ्य उपचारको व्यवस्था सहज भए पनि ठूलो संख्यामा मानिस बस्न थालेपछि सुत्ने ठाउँको समस्या बढेको नागार्जुन नगरपालिका–२ का वडाध्यक्ष थुमराज केसीले बताए। विस्थापितहरूलाई गुम्बाको बेसमेन्टमा समेत राखिएको छ।

संख्या अझै बढेपछि केही विस्थापितलाई स्वयम्भूनजिकै रहेको मुस्ताङ गुम्बाको बेसमेन्टमा सार्ने विषयमा समेत छलफल भइरहेको वडाध्यक्ष केसीले जानकारी दिए।

“खानलाई समस्या छैन तर बस्नलाई चाहिँ एकदमै समस्या छ,” उनले भने।

नगरपालिकाले अब विस्थापित परिवारको घरपरिवारको अवस्था बुझेर तथ्याङ्क संकलन गर्ने र सोहीअनुसार उनीहरूको व्यवस्थापन गर्ने तयारी गरेको छ।

विस्थापित परिवारको चाहना भने तत्कालको राहतमा मात्र सीमित छैन। उनीहरू सरकारले उद्धार र राहतसँगै घरबार गुमाएकाहरूको दीर्घकालीन पुनःस्थापना र व्यवस्थापनमा ध्यान देओस् भन्ने चाहन्छन्।

बाढीबाट आफन्त गुमाएका तथा परिवारका सदस्य अझै बेपत्ता रहेका व्यक्तिका लागि मानसिक तथा सामाजिक सहयोगको आवश्यकता पनि बढ्दै गएको छ। अस्थायी आश्रयले तत्कालको संकट टार्न सहयोग गरे पनि उनीहरूको दीर्घकालीन जीवन कसरी पुनःनिर्माण गर्ने भन्ने प्रश्न अब थप गम्भीर बन्दै गएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ‘एलो गुम्बा’मा विस्थापितको आश्रय, दुई सयभन्दा बढीको एउटै छानो

चितवनमा भोटेकोसी बाढीका ३३५ शव व्यवस्थापन, १२ जनाको मात्र सनाखत

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आज देशभर वर्षाको सम्भावना, काठमाडौँमा दिउँसोपछि पानी पर्ने

पञ्चकुण्ड तालमा जलवायु सङ्कटको संकेत, १२ वर्षमा क्षेत्रफल ८४६ प्रतिशतले बढेको दाबी

चितवनमा भोटेकोसी बाढीका ३३५ शव व्यवस्थापन, १२ जनाको मात्र सनाखत

कर्णालीले पूरा गर्यो विदेशी खेलाडीको कोटा

रसुवागढी र तातोपानी नाका ठप्प हुँदा व्यापारिक संकट, अर्बौँका सामान बाढीमा नष्ट

सडक अवरुद्ध : कुन–कुन ठाउँमा रोकियो यातायात?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu