काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले गैरकानुनी लाभ वा हानि, गलत लिखत तथा सरकारी कागजात सच्याएर भ्रष्टाचार गरेको आरोपमा बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। मुद्दा दायर गरिएकामा तत्कालीन प्रमुख मालपोत अधिकृत आचार्य, तत्कालीन नायब सुब्बाद्वय लक्ष्मणप्रसाद न्यौपाने र अजितकुमार साहनी (चाई), तत्कालीन खरिदार मेघबहादुर भुजेल मगर तथा जग्गाधनी पर्वतराज कान्त मिश्र छन्।
अख्तियारका अनुसार रुपन्देहीको साविक भुजौली–९(ख) मा रहेको हदबन्दीमा परेको तथा सार्वजनिक भइसकेको जग्गालाई पुनः व्यक्तिको नाममा दर्ता गरिएको थियो। आयोगले सरकारी तथा सार्वजनिक प्रयोजनमा रहेको जग्गालाई कानुनी प्रक्रिया मिचेर व्यक्तिको नाममा पुर्याइएको आरोप लगाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको कसुरमा जनही ४ करोड ५३ लाख ४१ हजार ८ सय रुपैयाँ बिगो कायम गरिएको छ। उनीहरूलाई कैद, बिगोबमोजिम जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरिएको आयोगले जनाएको छ।
यस्तै, जग्गाधनी पर्वतराज कान्त मिश्रलाई मुख्य कसुरदारहरूलाई गैरकानुनी लाभ पुर्याउने कार्यमा मतियार भएको आरोप लगाइएको छ। उहाँविरुद्ध पनि ४ करोड ५३ लाख ४१ हजार ८ सय रुपैयाँ बिगो कायम गरी मुख्य कसुरदारसरह कैद तथा जरिवाना र सम्बन्धित जग्गा जफत गर्न मागदाबी गरिएको छ।
अख्तियारका अनुसार हदबन्दीमा परी सार्वजनिक भइसकेको जग्गालाई ‘छुट जग्गा’ भन्दै अदालतको आदेशको गलत व्याख्या गरी व्यक्तिको नाममा दर्ता गरिएको थियो। यसरी सरकारी जग्गा व्यक्तिको नाममा पुर्याउँदा राज्यलाई आर्थिक नोक्सानी भएको आयोगको दाबी छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्